कञ्चनपुर। कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी गरेको छ । अस्पताल प्रशासनले डायलसिसका लागि मेसिन खरिद, भौतिक संरचना निर्माण र स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी थालेको छ ।
अहिले करिब १ करोडको लागतमा मेसिन खरिद गरिएको छ । भवन निर्माणाधीन अवस्थामा छ । स्वास्थ्यकर्मीलाई तालिमका लागि समन्वय भइरहेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टले बताए । उनका अनुसार फिजिसियनदेखि स्टाफ नर्सलगायत १० जनालाई तालिम दिनुपर्ने हुन्छ ।
‘असारभित्रै डायलसिस सेवा सुचारु गर्ने लक्ष्यका साथ काम भइरहेको छ,’ डा.भट्टले भने, ‘तर भौतिक संरचना निर्माणका लागि बजेट निकासा नहुँदा निर्माण कम्पनीले काम रोकेको छ ।’ उनले यस विषयमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई रकम निकासाका लागि आग्रह गरिएको बताए । डायलसिस भवन निर्माणका लागि ५८ लाखमा ठेक्का सम्झौता भएको हो ।
सेवा सुरु भएपछि दिनमा १० देखि १५ जनासम्मको डायलसिस गर्न सकिन्छ । अहिले कञ्चनपुरमा मात्रै १ सय बढी मृगौलाका बिरामी सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजारमा डायलसिस गराइरहेका छन् । कोरोना संक्रमणका कारण लामो समय नाका बन्द हुँदा मिर्गौलाका बिरामीले डायलसिसका लागि निकै समस्या बेहोरे । कतिपयले सीमावर्ती बजारमा डेरामा बसेरसमेत डायलसिस गराए ।
दोस्रो लहरको कोरोना संक्रमणका बेला अक्सिजनको अभाव भएपछि स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट निर्माण गर्न ४ करोड बजेट निकासा गरेको थियो । सुरुमा ठेक्का प्रक्रियामा जाँदा विवाद भयो । त्यसपछि संयुक्त राष्ट्रसंघअन्तर्गतकै संस्थाले अक्सिजन प्लान्ट निर्माण गरेपछि उक्त रकम डायलसिसका लागि प्रस्ताव गरिएको थियो । यद्यपि उक्त रकम हालसम्म निकासा नभएको निमित्त मेसु भट्टले बताए ।