धनगढी : नेपाली काँग्रेस कैलालीको १४ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा पदाधिकारीको मतपरिणाम आएको छ । सभापति पदको मतगणना बिहीबारनै सकिएपनि अन्य पदाधिकारीको आज मतपरिणाम आएको हो ।
आज उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए।
सचिवमा बम प्यानलका नृप सुनारले १४९३ र भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका छन्। बम प्यानलका सुनारले पदाधिकारीहरुमा सर्वाधिक मत ल्याएका हुन् । सभापतिको समेत १ हजार ३ सय ५९ मत आएकोमा सुनारलाई १४९३ मत प्राप्त भएका हुन् ।
यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अब जिल्ला सदस्यको मतगाणना सुरु हुनेछ।
जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी भइसकेका छन्। उनी दोस्रो चरणको निर्वाचनमा प्रकाशबहादुर बमलाई पराजित गर्दै विजयी भएका हुन्।