धनगढी। भोलिदेखि सुरु हुने मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
सुदूरपश्चिम–११ का अध्यक्ष सुरेश हमालले मैदान तयार पारिएको बताउदै प्रतियोगितामा सहभागी हुने टोली पनि धनगढी पुगेको जानकारी दिए । प्रतियोगिताको तयारीबारे जानकारी दिन आज आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ। मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको पाँचौ संस्करणको उद्घाटन खेलमा भोलि धनगढी रंगशालामा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन् । प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लवका अध्यक्ष हमालले बताए । आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ।
उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनामा एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । सुदुरपश्चिम खप्तड गोल्ड कप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्ड कप हो ।