बैतडी। सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीपछि बैतडी दोस्रो नम्बरमा भ्रष्टाचार बढी हुने जिल्लाको सूचीमा परेको छ। अख्तियार दुरुपयोय अनुसन्धान आयोगले शुक्रबार बैतडीका १० वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला नियकायसँगको अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेको हो।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पेश गरिएको तथ्याङ्कअनुसार सुदूरपश्चिमका नौवटा जिल्लाबाट परेका एक हजार ३९ वटा उजुरीको छानबीन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा। हरि पौडेलले बताए।
अख्तियारका अनुसार कैलालीका २९५, बैतडीका १५८, कञ्चनपुरका १४४, बझाङका ११९, दार्चुलाका ९७, डडेल्धुराका ८१, डोटीका ७७, अछामका ७४ र बाजुराका ४८ गरी एक हजार ३९ वटा उजुरीमाथि छानबीन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका दिनेशबहादुर खड्काले बताए। कार्यक्रममा पेश गरिएको बैतडीका १० वटा स्थानीय तहको उजुरीको तथ्याङ्कअनुसार बैतडीबाट अख्तियारमा परेका १५८ वटा उजुरीमध्ये ८६ वटा स्थानीय तहका मात्रै रहेको पाइएको छ।
बैतडीका स्थानीय तहकाअनुसार अख्तियारमा परेका उजुरीको सङ्ख्यामा डिलासैनी गाउँपालिकाबाट १५, पाटन नगरपालिकाबाट १३, दशरथचन्द नगरपालिकाका १२, मेलौली नगरपालिकाका १०, सिगास गाउँपालिकाका नौ, दोगडाकेदार गाउँपालिकाका ६ वटा, पञ्चेश्वर गाउँपालिकाका ५ र सुर्नया गाउँपालिका र शिवनाथ गाउँपालिकाका तीन–तीनवटा उजुरी परेका छन्।स्थानीय तहबाट परेका उजुरीमाथि छानबीन भइरहेकाले दोषी देखिए कानुनअनुसार दण्डित हुनुपर्ने अवस्था आउने अख्तियारले जनाएको छ।