धनगढी : नेपाली काङ्ग्रेस कैलालीको आइतबार निर्वाचन भएको छ । जिल्लामा नयाँ नेतृत्व चयनका लागि सो पार्टीको निर्वाचन भएको हो । पार्टीको कैलालीमा नेतृत्वका तीन जना आ–आफ्ना छुट्टाछुट्टै प्यानलसहित चुनाव लडेका हुन् । आइतबार मतदान भएपनि मतगणना भने सोमबार ११ बजेबाट मात्रै शुरु भएको छ ।
निर्वाचन सकिएसंगै कसले जित्न सक्ने भन्दै अड्कलबाजी सुरु भएका छन् । सो पार्टीको कैलालीमा नेतृत्वका लागि सभापति पद्का लागि निवर्तमान उपसभापति प्रकाशबहादुर बम, पूर्व उपसभापति नारायणदत्त भट्ट र संस्थापन इतर पक्षबाट रामबहादुर कलेल आ–आफ्नो प्यानलसहित चुनावमा होमिएका थिए ।
बम र भट्ट संस्थापन पक्षका हुन भने कलेल संस्थापन इतर पक्षको तर्फबाट उम्मेदवार छन् । बमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरीको उम्मेदवारी छ । यसअघि, चौधरी पनि सभापतिकै उम्मेदवार बन्ने चर्चा थियो । सभापतिका आकाङ्क्षी उनी बमलाई समर्थन गर्दै उनको प्यानलका उपसभापतिमा चुनाव लडेका छन् । यस्तै, बमकै प्यानलबाट अर्का उपसभापतिमा तेजशङ्कर भट्ट, सचिवमा नृपबहादुर सुनार, थर्क शाह, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेय चुनाव लडिरहेका छन् ।
सभापतिका अर्का उम्मेदबार भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी चुनावी मैदानमा उत्रिएका छन् । यसअघि बडुवालले पनि सभापतिका लागि दाबी गरेका थिए । बडुवालले भट्टलाई समर्थन गर्दै उपसभापतिमा उनको प्यानलबाट चुनाव लडेका छन् । यसैगरी, भट्टको प्यानलबाट सचिवमा केशव मिश्र, अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले चुनाव लडेका छन् ।
संस्थापन इतर अर्थात शेखर कोइराला पक्षबाट उपसभापतिमा लोकराज पाण्डेय ‘आगो’ र यज्ञनिधि कोइराला चुनावी मैदानमा छन् । सचिवमा देवानन्द जैशी, नवराज जोशी, सहसचिवमा तीर्थराज जोशी र रविन्द्रप्रताप सिंहले उम्मेदवारी दिएका छन् । सभापतिका उम्मेदबार बमका प्यानललाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाह ‘मनु’ लगायतका नेताहरुको समर्थन रहेको जनाइएको छ ।
यस्तै, भट्टको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका नेताहरुको समर्थन रहेको बताइएको छ । कैलाली काङ्ग्रेसमा दुई हजार पाँच सय ७६ मतदाता रहेका छन् । आइतबार भएको निर्वाचनमा दुई हजार चार सय ८५ मत खसेको थियो ।
यो जिल्लामा संस्थापन पक्ष बलियो रहेको छ । विगतका निर्वाचनमा सोही पक्षले बाजी मारेको थियो । यो निर्वाचनमा संस्थापन पक्षबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । कतिपयले भट्टको पक्षमा नेता र बमको पक्षमा कार्यकर्ता उभिएको पनि चर्चा गरेका छन् ।
यसैबीच, नेपाली काँग्रेस कैलालीको जिल्ला १४ औँ अधिवेशनबाट १२ जना निर्विरोध भएका छन् । चार जना थारु महिला सदस्य, भूगोल महिला सदस्य, एक जोशीपुर भूगोल र एक महाधिवेशन प्रतिनिधि निर्विरोध भएको निर्वाचन अधिकृत टेकप्रसाद सुबेदीले जानकारी दिएका छन् ।
निर्विरोध निर्वाचित हुनेमा थारु महिला सदस्य कल्पनादेवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलदेवी बडायक र शारदा चौधरी रहेका छन् । भूगोलतर्फ सदस्यमा कैलारी गाँउपालिका अनिता चौधरी, भूगोल महिला सदस्य धनगढी उपमहानगरपालिका कल्याणी सिंह हमाल र सुशीला भट्ट रहेका छन् ।
यसैगरी, भजनी भूगोल महिला नन्दा शर्मा, लम्की चुहा भूगोल महिला राधिका जोशी, मोहन्याल भूगोल महिला झरना सिजालीमगर, जोशीपुर भूगोल धनबहादुर मल्ल र महाअधिवेशन प्रतिनिधि भीमबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । काङ्ग्रेस निर्वाचनका कारण दिनभरि पार्क क्षेत्रमा भीडभाड रहेको थियो ।