काठमाडौँ। नेपालले मंगलबार टी-२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७५ रन बनायो ।
यूएईका लागि मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गरे । भृत्या आनन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४६ रन बनाए । विश्वकपमा पुग्न जित्नै पर्ने खेलमा नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३–३ विकेट लिए । जितेन्द्रले ३ ओभरमा ३५ र अविनाशले ४ ओभरमा ४६ रन खर्चे ।
जितेन्द्रले चिराग सुरीलाई ४ रनमा बोल्ड गरी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । तर अरविन्द र वासिमले आक्रामक खेल्दै यूएईलाई राम्रो स्कोरमा उभ्याए । यी दुबै ब्याट्सम्यान सबै नेपाली बलरमाथि हाबी भएका थिए । कप्तान सन्दीप लामिछानेले कसिकसाउ बलिङ गरी नेपाललाई खेलमा फर्काए । सन्दीपले ४ ओभरमा २४ रन खर्चिए ।
नेपाली टोलीमा कुशल मल्लको स्थानमा अर्का अलराउन्डर विवेक यादवलाई राखिएको छ । क्यानडाविरूद्ध अघिल्लो दिनको खेलमा कुशल आफूले सामना गरेको पहिलो बलमा बोल्ड भएका थिए । यस खेलमा जित्ने टोली यसै वर्ष अस्ट्रेलियामा हुने टी-२० कपमा पुग्नेछ । दुवै टोली ८ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्ने दाउमा छन् । नेपाल र यूएई दुवैले पछिल्लो पटक २०१४ मा टी-२० विश्वकप खेलेका थिए । त्यसयता दुवै टोली पहिलो पटक टी-२० विश्वकप पुग्ने प्रयासमा छन् ।