जनकपुर। फुटको शृंखलालाई निरन्तरता दिँदै एउटा मधेसवादी पार्टी मंगलवार पुन: टुक्रिएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, संविधासभा सदस्य विजयकुमार सिंहलगायतका नेता कार्यकर्ताहरू लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने उद्घोष गरेका छन् ।
जिल्ला समन्वय समिति, धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरेको तथा फागुन १५ गते तमलोपामा प्रवेश गर्ने जानकारी दिएका छन् । लालले मधेसवादी दल तथा नेतृत्व पंक्तिमाथि जनता,जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्न नसकेको, गन्त्व्यको दिशामा अगाडि बढ्न नसकेको तथा जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पेको आरोप लगाए ।
‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरुको अस्तित्व नै रहेन। नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वाभवत स् लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ विज्ञप्तिमा भनिएको छ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले मधेसकेन्द्रित दलले आफूलाई राष्ट्रिय दल देखाउन आफ्नो नामबाट मधेस शब्द झिकेको बताए । उनले भने, ‘क्षेत्रीयता बना संघीयता सफल हुन सक्दैन । हाम्रो दल क्षेत्रीय दल हुने छ । क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौ ।
क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौ ।’लाल र डा. सिंहको नेतृत्वमा पूर्व तमलोपा पार्टी आवद्ध झण्डै सय जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको स्वघोषणा गरेका छन् । जसमा लोसपाका रामजी राय,धीरेन्द्र बहादुर सिंह,सतिस लाल दास,योगेन्द्र राय,उमेश मण्डल र मोहम्मद असगर अलिलगायतका प्रमुख छन् । लाल र सिंहले लोसपाभित्र आन्तरिक लोकतन्त्रको आभाव भएको आरोप लगाए । लोसपा अध्यक्ष महन्थ ठाकुरनिकट मानिएका लाल र सिंहले पछिल्लो पटक ठाकुरको कार्यशैलीको कडा विरोध गर्दै आएका थिए । दुई वर्षअघि सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा दुई वर्षे कार्यकाल सम्पन्न गरेका वृशेषचन्द्र लाललाई पुन स् उम्मेदवार नबनाई पैसाको बलमा मृगेन्द्रनारायण सिंह यादवलाई उम्मेदवार बनाएको भन्दै त्यतिबेला चर्को बिरोध भएको थियो ।
मंसिरमै गठन भएको थियो ‘तमलोपा’
लाल र सिंहलगायतका नेता कार्यकर्ताहरु फागुन १५ गते प्रवेश गर्ने भनिएको तराई मधेस लोकतान्त्रिक पार्टी २०७८ साल मंसिर १७ गते नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ । जसका अध्यक्ष जनकपुरधाम उपमहानगर पालिका–४का रविशंकर कुमार कर्ण छन् भने उपाध्यक्ष धनौजी गाउँपालिका–५ बहुअर्वाका रमेश प्रसाद अधिकारी९मण्डल० तथा महामन्त्री जनकपुरधाम २ का विमला साह छन् । तमलोपाका उपाध्यक्ष रमेशप्रसाद अधिकारीले लाल र सिंहलगायतका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्न आएर स्वागत गर्ने बताएका छन् । ‘हामी मधेस र मधेसीको सेवा गर्न दल दर्ता गराएका हौं । पार्टी प्रवेश गर्न आउने सबैलाई स्वागत गर्छौँ,’ उनले भने ।