बैतडी। बैतडीमा सोमबार दिउँसो भएको टिप्पर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा थप एकको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो। थप मृत्युु हुनेमा बैतडी पाटन ३ का बर्ष १२ का राजेश पन्त रहेका छन ।
उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्युु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले बताए । दुर्घटनाका थप चार जना घाइते मध्ये १ जना गम्भीर रहेका छन भने ३ जना सामान्य रहेका बताइएको छ । घाइतेहरूको थप उपचारको लागि डडेल्धुरा पठाएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ३ जनाको घटनास्थलमै मृत्युु भइसकेको छ। घटनास्थलमै मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षिय जनक राज पन्त, पाटन ३ कै १२ वर्षिय ज्ञानु बिष्ट र १७ वर्षिय ललित अवस्थी रहेका छन । यस्तै घाइते हुनेमा १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त घाइते भएका छन्। गुरुडा देखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नं को टिप्पर दुर्घटना भएको हो । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टिप्पर चालक फरार रहेका छन।