बैतडी। बैतडीको मेलौली नगरपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले सहयोगीबाट चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको हो।
गत वर्षबाट थालिएको अभियानमा देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम संकलन गरेर नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसीसहितको सुविधा सम्पन्न एम्बुलेन्स शनिबारबाट सञ्चालनमा आएको हो। उक्त एम्बुलेन्समा स्वास्थ्यकर्मी सहित सेवा दिने योजना रहेको संस्थाका सञ्चालकहरूको भनाइ छ।
एम्बुलेन्स खरिद अभियानमा १३ लाख ८० हजार सहयोग संकलन भएको थियो। सोही रकमबाट एम्बुलेन्स खरिद गरिएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथ सिंह नायकले बताए। मेलौली क्षेत्रमा एम्बुलेन्स नहुँदा सर्वसाधारणहरूले सास्ती खेप्दै आएको कारण संस्थाले अभियान थालेको र अभियान थालेको छोटो समयमै राम्रो सहयोग प्राप्त भएपछि एम्बुलेन्स सेवा सञ्चालमा ल्याउन सफल भएको नायकले बताएका बताए। एम्बुलेन्स सञ्चालनमा आएपछि समस्यामा परेका नागरिकलाई समयमै अस्पताल पुग्न सजिलो हुने नायकको भनाइ छ । साथै चर्को शुल्क तिरेर पनि एम्बुलेन्स नपाइने प्रवृतिको अन्त्य हुनेमा विश्वस्त रहेको अभियन्ताहरूको भनाइ छ।