काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको हो ।
निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको जनाएको छ । यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५।६१, डिजेल रु ५।६२ ले तथा हवाई इन्धन रू ४।९५ ले बढाएर मूल्यसूची पठाएको थियो । यस अनुरूप १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्थामा निगमको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य वृद्धि गरिएको हो ।
निगमले एलपी ग्यासमा प्रति सिलिण्डर रू। ५६०।७४ घाटा हुँदा समेत हाललाई बिक्री मूल्य नबढाई यथावत नै राखिएको जनाएको छ ।