बैतडी। चितुवा प्रभावित क्षेत्र बैतडीको पञ्चेश्वर गाउँपालिकामा पाँच फिट एक इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको छ। पञ्चेश्वर गाउँपालिका –५, गिरेगाडामा मृत अवस्थामा चितुवा फेला परेको हो। चितुवालाई मङ्गलबार बैतडी सदरमुकाम ल्याएर खाल्डोमा गाडिएको छ।
स्थानीयले मृत अवस्थामा फेला परेको चितुवाकाबारेमा प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले मृत चितुवा डिभिजन वन कार्यालय बैतडीलाई बुझाएर खाल्डोमा गाडिएको हो। चितुवाको खुट्टा र पछाडिको भाग केही जङ्गली जनावरले खाएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी श्यामसुन्दर माझीले बताए ।
सूचना अधिकारी माझीले भन्नुभयो, “मृत चितुवाको पुच्छरदेखि टाउकोसम्म नापजाँच गर्दा पाँच फिट एक इन्च लामो छ । खुट्टादेखि तलको केही भागको मासु खाएकोले भाले हो कि पाथी छुट्उयाउन सकिने अवस्था छैन, चितुवालाई खाल्डोमा व्यवस्थापन गरेका छौं ।” जङ्गली जनावरको शिकार गर्ने चितुवा आफै कसरी शिकार भयो भन्ने कुरा पत्ता नलागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।