कैलाली। नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनकालागि आजदेखी हेलि टुर आयोजना गरिने भएको छ।
फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ। बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेश, माउण्टेन हेलिकप्टर र उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम तथा होटल व्यवसायी महासंघ सुदूरपश्चिमको सहकार्यमा टुर आयोजना हुने भएको हो।
उक्त टुरमा खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र साफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको छ। यात्रुहरुलाई स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरु उपलब्ध गराइने आयोजकले जानकारी दिएका छन्। नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरानाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने बताए।
बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न शहरसँग जोडिएकोले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताए। नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुराँगाईले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्याण्ड’ भएको उल्लेख गर्दै यो कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे । यस्तै नाटा सुदूरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकोले आर्थिक विकासका लागि त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । नाटाको सचिव शिवहरि पाण्डले १० दिनको अवधिमा कम्तिमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अबलोकन गराउने लक्ष्य लिएको बताए । यस्तो छ प्याकेज यहाँ तल हेर्नुहोस…