बैतडी। बैतडीको सुर्नया गाउँपालिका ६ का ३० बर्षीय डम्मर अवस्थीको हत्यामा अरु पनि संलग्न रहेको भन्दै थप अनुसन्धान गर्न माग गरिरहेका छन्। गत मंसिर १४ गते घरबाट हराएका डम्मरको शव ४५ दिनपछि उनको घर नजिकैको धुरा जंगलको गुफामा गाडेको अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धान र न्यायको माग गर्दै आफन्त सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । उनीहरुले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाइ एक निवेदन समेत दिएका छन् । अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको र त्यसमाथि छानबनी तथा अनुसन्धान गरिदिन माग गर्दैैै निवेदन दिएका हुन्। मन्त्रालयलाइ दिएको निवेदनमा घटनाको यथेष्ट अनुसन्धान गरेर दोषीलाई कारवाही तथा परिवारलाई क्षतिपूर्ति उपलव्ध गराउन माग गरिएको छ।
डम्मरको हत्यामा संलग्न सबैको पहिचान गरी कानुनी दायरमा ल्याउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तीको माग गरेपनि त्यसो हुन नसकेपछि लामो समयपछि बाध्य भएर शव बुझेको मृतकका दाजु दिवाकर अवस्थीले बताए । शव बुझ्नका लागि चारैतिरबाट दबाब आएपछि शव बुझेर अन्तिम संस्कार गरेको अवस्थीले बताए । डम्मरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थी र नवराज अवस्थीलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान जारी राखेको छ । दुवै जनाले हत्यामा संलग्न भएको स्वीकार गरिसकेका छन् । उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
यता मृतकका परिवारले भने डम्मरको हत्यामा अरु पनि संलग्न रहेको भन्दै थप अनुसन्धान गर्न माग गरिरहेका छन् । डम्मरको हत्या सुनियोजित रुपमा भएको र थप हत्यारा पक्राउ गर्न प्रहरी असफल भएको मृतकका दाजु तीर्थराज अवस्थीले आरोप लगाए । हत्यारा जोगाउन प्रहरी नै सक्रिय रहेको उनको आरोप छ । प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ। गत पौष २८ गते हत्या गरिएको अवस्थामा डम्मरको शव फेला परेपनि आफन्तहरुले विभिन्न माग राख्दै शव बुझ्न मानेका थिएनन् । तर आइतबार भने बिना कुनै सहमति उनीहरुले शव बुझेका छन् ।