बैतडी। बैतडीमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि स्थानीयहरुले सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरेका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्न स्थानीयले बाँदर धपाउन संघर्ष समिति गठन गरेका हुन।
बाँदरले खेतबारीमा लगाएको बालि सखाप पारेको, भित्र राखेका सामग्री समेत बाँदरले नष्ट गर्न थालेपछि बाँदर धपाउने उपाय निकाल्न स्थानीय सरकारको ध्यानाकर्षण गराउन संघर्ष समिति गठन गरिएको संयोजक इन्द्रदेवशरण भट्टले जानकारी दिए। समिति गठनले प्रत्येक वडाबासीको हस्ताक्षर संकलन गरेर वडा कार्यालय, पालिका, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयलाई बुझाउने तयारी गरेको उनले जानकारी दिए ।
बाँदर धपाउने उपाय निकालेर नागरिकलाई राहत दिनु सरकारको दायित्व भएको भट्टले बताए। बाँदर धपाउने उपायका लागि स्थानीय सरकारले केही पहल नगरे महाकाली राजमार्ग समेत बन्द गर्ने उनले चेतावनी दिइएको छ । संघर्ष समितिले वडा कार्यालय, गाउँपालिका, स्थानीय प्रशासन र डिभिजन वन कार्यालयमा आइतबार निवेदन दिने र आफ्ना मागहरु १५ दिनभित्र पूरा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ ।