बैतडी। यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द भएको हो । एक महिना यता बैतडीबाट धनगढीसम्म उडान नभएको जनाइएको छ ।
‘यात्रु कम भएकाले उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए । ‘यात्रु भएमा उडान गर्ने भन्ने तयारी गरिरहेको उनले भने । यात्रु कम भएपछि सेवा सञ्चालन गर्ने आधारै भएन ।’१८ यात्रु क्षमताको समिट एयरको जहाज दसैंपछिसम्म पनि राम्रो चलिरहेको भट्टले बताए । तर पछिल्लो समय मौसमको कारणले गर्दा ढिलो हुने र उडान नहुने चिन्ताले यात्रु नआउने गरेका उनले बताए । दैनिक ५र७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेको उनले बताए । १४र१५ जनासम्म पुगेपछि उडान सुचारु गर्न सकिने उनले बताए ।
बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय बताउँछन् । भाडा महँगो भएकाले यात्रुहरूले हवाई यात्रामा जान नमान्ने गरेका स्थानीयको भनाइ छ । यत्तिकै दूरीको काठमाडौं—पोखराको भाडा २ हजार ५ सय छ । यहाँभन्दा टाढा अछामबाट धनगढीको कमै भाडा छ । तर यहाँको भाडा निकै अवैज्ञानिक र अपारदर्शी भएको छ । त्यसैले हवाई सेवा सर्वसाधारणको पहुँचमा हुन नसकेको यात्रुको गुनासो छ । एउटै एयरलाइन्सको जिम्मा लगाएर महँगो भाडादर कायम भएकाले यात्रुहरू नपाउने समस्या रहेको विद्यार्थी नेता भुवन कार्की बताउँछन् ।
उनले भने, ‘६/७ सयमा गाडीमा धनगढी पुगिन्छ । अहिले हवाई भाडा बढेर ४ हजार १ सय रुपैयाँ पुगिसकेको छ । यता समिट एयरका बैतडी पाटन विमानस्थल हेर्ने कृष्ण भट्ट भने यात्रु अभाव नभई मौसम खराबीले उडान हुन नसकेको दाबी गर्छन् । उनले भने, ‘यात्रु नै नपाएर उडान नभएको होइन । मौसमको खराबीले हो ।’ भाडा भने बढी नै भएको उनले स्विकारे । हवाई रुटमा अछाम र बैतडी बराबर नै भएको उनले बताए । उनले भने , ‘सुरुमा भाडा ३ हजार ८ सय ५० रुपैयाँ थियो । बीचमा इन्धनको मूल्य बढेपछि हामीले पनि बढाउनुपरेको हो ।’