बैतडी। बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं २ को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो ।
महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको बस दुर्घटनामा परेको हो । प्रहरीका अनुसार सबै घाइतेहरूकाे नामावली आएकाे छैन। दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।