बैतडी। बैतडीबाट हराइरहेकी बालिका पर्सामा फेला परेकी छिन्। माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्।
भारत लैजान लागिएको अवस्थामा ती बालिकाको सोमबार उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ। माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। ती बालिकालाई भारत लैजान खोज्ने अर्घाखाँची सन्धिखर्क-७ घर भई हाल भरतपुर उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय राजु अधिकारी पक्राउ परेका छन्।
खनालका अनुसार ती बालिकालाई अधिकारीले इनर्वा नाका हुँदै भारत लैजान लागेका थिए। अधिकारी बालिकासँग एक महिनाअघिदेखि फोन सम्पर्कमा थिए। फोनमै चिनजान गरी बालिकालाई उनले भेट्न बोलाए। ‘अर्घाखाँची लगेर बिहे गर्छु भनी बालिकालाई वीरगञ्ज बसपार्कसम्म ल्याएको अनुसन्धानबाट थाहा भएको छ,’ खनालले भने, ‘त्यहाँबाट पाँच मिनेटमा घर पुगिन्छ भनी इनर्वा नाका हुँदै भारत लैजान खोजेको देखिन्छ।’ बालिका अहिले माइती नेपालको साथमा छिन्। अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको छ।