कैलाली। कैलालीमा ५५३ जना सक्रिय संक्रमित पुगेका छन्। कैलालीमा शनिबार पनि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै पुगेको हो। योसँगै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्ला आठ पुगेको छ।
भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो। कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ।
२८ पुसमा आठ जना संक्रमित भर्ना भएकोमा शुक्रबार उक्त संख्या दोब्बरले वृद्धि भएर १६ पुगेको सेती प्रादेशिक अस्पतालले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र छ जना संक्रमित भर्ना भएका छन्। अस्पताल भर्ना भएका १६ जनामध्ये पाँच जनाको अवस्था जटिल छ। चार जनालाई आईसीयू र एक जनालाई भेन्टिलेटरमा राखिएको छ । खास गरी प्रदेशमा संक्रमण दर वृद्धि भएपछि अस्पताल भर्ना हुने क्रमपनि बढेको देखिन्छ।
काठमाडौं,ललितपुर, भक्तपुर, मोरङ, सुनसरी र कास्कीमा पहिलेदेखि नै सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ।सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ६१ जना सक्रिय सङ्क्रमित छन् । देशभर २१ हजार ५ सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले स्वास्थ्य मापदण्डको पालना गर्न र खोप नलगाएको भए लगाउन मन्त्रालयको अनुरोध छ। नेपालमा अहिलेसम्म २ करोड ७९ लाख ११ हजारभन्दा धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।