काठमाडौं। सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ।
सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ। गत पुस २८ को मन्त्रीस्तरीय निर्णयबाट माघ २ (आज) देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको छ।
अहिले भने अग्रपंतिमा खटिने व्यक्तिहरूले बुष्टर मात्रा खोप लगाउन पाउनेछन्। मन्त्रालयकाअनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरूले बुस्टर डोज पाउनेछन् ।
यस्तै सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घ संस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।