सुदूरपश्चिम। सुदूरपश्चिमका ९ जिल्लामध्ये बझाङबाहेक सबैमा नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भर्चुअल माध्यमबाट देशका ६१ जिल्लासँगै सुदूरपश्चिमका ८ जिल्लाका अधिवेशन एकसाथ उद्घाटन गरेका थिए।
हिमपातका कारण सुदूरपश्चिको एउटा जिल्ला बझाङमा भने अधिवेशन सुरु हुन सकेको छैन। अन्य ८ जिल्लामा भने अधिवेशन जारी छ। तर अहिलेसम्म नेतृत्व चयनमा सहमति हुन सकेको छैन। पदका आकांक्षी धेरै भएपछि सबै जिल्लामा निर्वाचन प्रक्रिया अघि बढाइएको छ। ६ जिल्लामा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जानकारी दिए। ‘अहिलेसम्म कतै पनि टुंगिएको छैन। आकांक्षीबीच सहमतिको प्रयास जारी छ’, उनले भने, ‘मनोनयन दर्ता पनि भएको छ, सँगसँगै सहमतिको प्रयास पनि भइरहेको छ।’
सहमति नभए निर्वाचनबाट नेतृत्व छानिने उनले बताए। नेकपा एमालेले जिल्ला तहलाई सर्वसम्मतिमै नेतृत्व छनोट गर्न निर्देशन दिएको छ। तर पदका दाबेदारबीच सहमति नजुट्दा अन्ततः नेतृत्व चयन प्रक्रिया निर्वाचनतिरै मोडिने भएको हो। कैलाली, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी र बाजुरामा निर्वाचन प्रक्रिया थालिएको हो। कञ्चनपुर र अछाममा बन्दसत्र जारी छ। बझाङमा हिमपातका कारण अधिवेशन सुरु हुन सकेको छैन। सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीमा अध्यक्ष पदका आकांक्षीबीच सहमति हुन नसकेपछि नेतृत्व चयन प्रक्रिया निर्वाचनतर्फ गएको छ। जिल्लाको नेतृत्व लिन निवर्तमान अध्यक्ष रतनबहादुर थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन्। कैलालीमा एमालेको नयाँ नेतृत्व चयन गर्न आज आइतबार निर्वाचन हुँदै छ। सुरुमा अध्यक्ष पदका अर्का आकांक्षी रहेका जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेले चन्दलाई नै सर्मथन गर्दैै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन्।
निवर्तमान अध्यक्ष थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा निवर्तमान सचिवसमेत रहेका दानबहादुर विक ‘चित्रण’ले उम्मेदवारी दर्ता गराएका छन्। चन्दको प्यानलबाट उपाध्यक्षमा सीताराम बुढाथोकी, सचिवमा पाण्डे, सहसचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ। सहसचिवमा रवीन्द्र चौधरी, विनय शाह र मदनराज ओझाले पनि उम्मेदवारी दिएका छन्, तर उनीहरू अहिलेसम्म कुन प्यानलबाट, खुलेका छैनन्। एमाले कञ्चनपुरको अध्यक्षमा तीन जना आकांक्षी छन्। वीरबहादुर थापा, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले अध्यक्ष पदमा दाबी गरेका हुन्। थापा माओवादी केन्द्रबाट एमालेमा आएका नेता हुन्। उनीहरूबीच सहमतिको प्रयास भइरहे पनि हुन सकेको छैन। शनिबार सुरु बन्दसत्र आइतबार पनि जारी रहनेछ। डडेल्धुरामा नेतृत्वका लागि निवर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर वशिेश्वरप्रसाद ओझा चुनावी मैदानमा छन्। डडेल्धुरामा नेतृत्वका आकांक्षीबीच सहमति नजुटेपछि चुनावी प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो। मनोनयन दर्ता भएको छ, अझै पनि सहमति प्रयास रहन्छ,’ नेता पठानसिंह बोहराले भने, ‘नभए निर्वाचनबाट नेतृत्व छानिनेछ।
’ उपाध्यक्षमा केशव बोहरा, धनबहादुर धामी विवेक र रूपसिंह ठकुराठीले उम्मेदवारी दिएका छन् । सचिवमा करन ताम्राकार र गजेन्द्र शाहीको उम्मेदवारी छ। आकांक्षीबीच सहमति नजुटेपछि बैतडीमा पनि नेतृत्व छान्न निर्वाचन हुँदै छ। एमालेका नेता गोरखबहादुर चन्द र सुरेन्द्र पालले आआफ्ना प्यानल बनाएका छन्। अध्यक्षमा चन्द र पालबीच प्रतिस्पर्धा हुनेछ। चन्द प्यानलबाट उपाध्यक्षमा भगिरथ कुँवर, सचिवमा सन्तोष जोशी, सहसचिवमा जनकबहादुर चन्द र भरत मडै चुनावमा होमिएका छन्। यसैगरी, पालको प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली चुनावी प्रतिस्पर्धामा छन्। दार्चुलामा पनि निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ। निर्वाचन समितिका अनुसार जिल्ला कमिटी अध्यक्ष पदमा चार जनाको उम्मेदवारी दर्ता भएका छन्। वर्तमान उपाध्यक्ष उदय बडाल, सचिव ज्ञानेन्द्र घर्ती, पूर्वसचिव मोहनसिंह धामी र जिल्ला कमिटी सचिवालय सदस्य एवम् नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी गरी चार जनाले एमाले दार्चुलाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
सचिवमा शेरसिंह धामी, गंगादत्त जोशी, नारायणदत्त भट्ट र लक्ष्मी प्रसाद जोशीको उम्मेदवारी परेका छन्। यस्तै उपसचिवमा खडक बडाल, उमेश जोशी, चन्द्रादेबी कुवँर, दानिराम पार्की र धनबहादुर कुवँरले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा अहिलेका उपसचिव चरनसिंह बुढाथोकीको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका छन्। अछाममा बन्दसत्र जारी छ। यहाँ अध्यक्षमा प्रकाश शाह, चन्द्र बोहरा र कृष्णप्रसाद जैसी अध्यक्षका आकांक्षी छन्।बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली अध्यक्ष पदका दाबेदार छन्।