डोटी। डोटीको शिखर नगरपालिकामा रहेका पाँचवटा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ।
मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नाम गैरसरकारी संस्थाले नगरपालिकामार्फत कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो।साइन नेपालद्वारा सञ्चालित केयर एन्ड रिलिफ परियोजनाअन्तर्गत कृषकको आयआर्जनमा वृद्धि गर्ने र व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए।
नगरपालिकाको सिफारिसमा भागेश्वर कृषक समूह, रानीढुङ्गा कृषक समूह, तल्लिसैन कृषक समूह, कैलपाल कृषक समूह र डडिया कृषक समूहलाई ती हाते ट्याक्टर उपलब्ध गराएको साइन नेपालका कोषाध्यक्ष मेघराज भट्टले जनाए। ट्याक्टर पाएपछि आफूहरुको कामको बोझ घट्ने र आयआर्जनमा बृदी हुने भागेश्वर कृषक समूहका अध्यक्ष राधिका शाहीले बताइन्।
‘गोरुबाट खेती किसानीको काम गर्दा समय बढी लाग्ने र दुःख पनि बढी थियो’, उनले भनिन् ‘हाते ट्याक्टर पाउँदा किसानलाई कामको बोझमा कमी र छिटो छरितो काम हुने छ।’समूहगतमा वितरण गरिएका ट्याक्टरको समुदायमा सही सदुपयोग भएमा आवश्यकताअनुसार अझ थप्न सकिने संस्थाले जनाएको छ । उक्त संस्थाले जिल्लामा शिक्षा, स्वास्थ्य, पोषण, आयआर्जन, सीपमूलक तालिमलगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ। यसै गरी उक्त संस्थाले जाडोबाट बचाउनका लागि नगरपालिकामा रहेका विपन्न, एकल महिला तथा वृद्धवृद्धा गरी कम्तीमा पनि ३ सय जनालाई न्यानो कम्मल वितरण गरेको छ।