बझाङको विकट वस्तीका नागरिकलाई नागरिकता बनाउन सास्ती बेहोर्नु परेको छ । जिल्ला प्रशासन कार्यालय बझाङमा नागरिकताका लागि टाढा टाढाबाट लामो दुरी पारगरेर आउनेहरुले दिनभर लाइन बस्दा सास्ती बेहर्नू परेको हो । कतिपय स्थानियहरु तीन दिनको पैदल बाटोको यात्रापछि मात्रै बझाङ सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता रहेको छ। जिल्ला प्रशासन कार्यालय बझाङ पुगेकी बुङ्गल नगरपालिका-२ कि विमला धामीले दिनभर लाइन बस्दा पनि नागरिकता बनाउन पाइनन् ।९० किलोमिटरको दूरी पारे गरेर नागरिकता लिन
एकवर्षे दूधे बालक बोकेर घरबाट दुई दिन हिँडेर आएकी उनी सेवाग्राहीको भीडभाडले नागरिकता बनाउन दुई दिन प्रशासन धाउनु परेको बताइन् ।
उनले पहिलो दिन बिहान ११ बजेदेखी जिल्ला प्रशासन कार्यालयमा लाईन बसेपनी त्यो दिन काम नभएको बताईन्। हिजो पनि दिनभर नागरिकता बनाउनका लागि लाइनमा बसेँ ५ बज्दासम्म काम भएन । आज घरबाट हिँडेको तेस्रो दिनपछि मात्र नागरिकता पाइन् ।
यो समस्या विमलाको मात्र होइन । जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि लाइनमा बस्नु पर्ने अधिकांश नागरिकको समस्या नै यही छ, समयमा नै काम हुँदैन ।
पछिल्लो समयमा अनलाइनबाट छिटो छरितो नागरिकतालगायतका सेवा दिने प्रबन्ध मिलाइएको भए पनि दिनहुँजसो थेग्नै नसकिने भीडभाडका कारण त्यो प्रविधिले पनि काम गर्न सकिएको छैन ।
विमलाजस्तै शनिबार घरबाट हिँडेकी बुङ्गल २ की सङ्ली देवी धामीले पनि दिनभर नै लाइनमा बस्नु परेको बताइन् । ‘घरमा मान्छे पनि कोही छैन् । गाई गोरु बाख्रालाई गोठमा थुनेर आएका हौँ । यहाँ धेरै भीडभाड रहेछ,’ सङ्लीले भनिन् ‘गाउँबाट चैनपुर आउन एक हजार रुपैयाँ त गाडी भाडा मात्र लाग्यो । यहाँ होटलमा बस्दा धेरै खर्च भइसक्यो । हाम्रा लागि त देउरामा प्रशासन कार्यालय भएको भए केही राहत मिल्ने थियो ।’
भौगोलिक रूपमा ठूलो र विकट वस्ती रहेको बझाङ जिल्लाका स्थानीयलाई सदरमुकाम चैनपुरमा पुग्दा ठूलो खर्च हुने गरेको छ । जिल्लाको वित्थडचिर गाँउपालिका, बुङ्गल नगरपालिका, केदारस्यु र थलारा गाँउपालिकाको केही भू–भागका नागरिकताले सदरमुकाम पुग्न ठूलो खर्च गर्नुपर्ने अवस्था रहेको छ ।
यस्तै, जिल्लाको दुर्गम साइपालका स्थानीयले त झन् तीन दिनको पैदल बाटोको यात्रापछि मात्रै चैनपुर पुग्नु पर्ने बाध्यता रहेको छ । गाउँबाट सदरमुकाम चैनपुर पुग्दा मात्रै १० हजार रुपैयाँ खर्च हुने गरेको साइपाल गाँउपालिका(३ का प्रदीप बोहराले बताए ।
भौगोलिक रूपमा ठूलो र विकट जिल्ला भएका कारण जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा दिनुपर्ने नागरिकको माग रहेको छ । वित्थडचिर गाँउपालिका-९ की उत्तरा अधिकारीले जिल्लाको मध्यभाग झोता वा देउरामा भए पनि इलाका प्रशासनलगायतका सरकारी कार्यालय स्थापना गरी सेवा दिइनु पर्ने बताइन् ।
जनताको सेवाका लागि भए पनि सरकारी तर स्थानीय तहले पहल थाल्नु पर्ने उनको भनाइ छ । उनी भन्छिन्, ‘प्रशासनले शिविरको आयोजना गरी पालिकाको केन्द्रमा नै आएर नागरिकता दिनुपर्ने, कि हामीलाई पायक पर्ने स्थानमा अर्को कार्यालय बनाउनु पर्छ । चैनपुर आउँदा जाँदा मात्रै स्थानीयको खर्च धेरै हुने गरेको छ ।’
जिल्ला प्रशासन कार्यालयमा सधैँजसो भीडभाड हुने गरेको भए पनि अहिले फोटोसहितको मतदाता नामावली र राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या धेरै भएका कारण काममा केही समय लाग्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रमाकान्त जोशीले भने, ‘नागरिकता फाँटका कर्मचारीलाई पानी खाने फुर्सदसम्म हुँदैन । गाउँबाट आएका नागरिकहरूको कामलाई छिटो छरितो गर्ने गरी लागेका हुन्छौँ तर पनि भीडभाड धेरै हुने गरेको छ’ उनले थपे, ‘दरबन्दी अनुसारको जनशक्ति अभाव छ । कार्य क्षेत्र पनि धेरै भएकाले यस्तो समस्या देखिएको हो ।’
प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बझाङमा इलाका प्रशासन कार्यालय थप गर्नु पर्ने भनेर पटक पटक पहल गरेको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको बताए ।
जिल्लाको क्षेत्र नं। ख मा एउटा इलाका प्रशासन कार्यालय स्थापना गर्न सकेको खण्डमा स्थानीयलाई सहज सेवा उपलब्ध गराउन सकिने प्रजिअ अधिकारीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयबाट इलाका प्रशासन स्थापनाका लागि पहल भइरहेको उनले बताएका छन् ।