धनगढी। नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाहीबाट जनता निराश भएको बताएका छन् ।
मङ्गलवार नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले सो कुरा बताएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा रुष्ठ भएको उनले बताए।
उनले भने ‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ । कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभुत आवश्यकता पुरा गराउनतर्फ केन्द्रित भएको छैन’ उनले भने,‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ ।’ उनले प्रदेश सरकार यथाशिघ्र फेरबदल गर्नुपर्ने बताए । ‘संघमा पाँच दलको गठबन्धनको सरकार रहेको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै सभापति रहेका छन्’ उनले भने –‘सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा राख्नु र सरकारमा सहभागिता नगराउनु यो सरकारको दुर्भाग्य हो।’
उनले आफुहरुले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई सुदूरपश्चिम प्रदेश सरकारको काम गराई शैली उचित नभएको र फेरबदल गर्नुपर्ने भनि सुझाव दिँदै आएको बताउँदै अब पुनः काठमाडौं गएपछि यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताए । नेता महरले आफु राष्ट्रिय योजना आयोगको टोलीसँग प्रदेशका नौ वटै जिल्लामा जाँदा विकासको दृष्टिकोणमा प्रदेश अत्याधिक पछि रहेको पाएको बताए । उनले भने –‘पश्चिम सेती परियोजना, बझाङको ताक्लाकोट जोड्ने सडक, फास्ट ट्रयाक, पञ्चेश्वर आयोजना, गेटा विमानस्थलको स्तरोन्नति तथा सुदृढीकरण लगायतका योजनाको कार्य यो सरकारले यथाशिघ्र सम्पन्न गर्नुपर्ने छ ।’
उनले गेटा मेडिकल कलेजको काम सम्पन्न भएपनि सञ्चालन हुन नसकेको बताए। ‘मेडिकल कलेजको भौतिक संरचना निर्माण भइसकेका छन । यसलाई प्रतिष्ठान, मेडिकल कलेज वा सुदूरपश्चिम विश्वविद्यालय मातहात सञ्चालन गर्ने भन्ने तीन विकल्पको छलफल भएका रहेछन’ नेता महरले भने –‘मेरो व्यक्तिगत विचारमा यसलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ । यो नेपालमै पहिलो हुने छ ।’ उनले प्रदेशका सात वटा पहाडी जिल्लाको विकासलाई सरकारले ध्यानमा राख्नुपर्ने बताए । ‘प्रदेशको राजधानी डोटीबाट धनगढी सारिएपछि त्यहा रहेका कार्यालयहरु पनि तराईमै सारिएका छन ।
त्यहा“ बनेका भौतिक संरचना प्रयोगविहिन छन’ उनले भने –‘अहिले तराइको विकास भइरहेकाले पहाडको जनसंख्या तराईमै बसाईसराई गरिरहेका छन । पहाडको विकास नभएसम्म बसाईसराई रोक्न सकिदैन ।’ प्रदेशमा केही दिन आएको बाढी पहिरोका कारण प्रभावित परिवारले अहिलेसम्म राहत पाउन नसकेको गुनासो आएको बताए । प्रदेशका अधिकांश व्यक्तिहरुले तटबन्धनको माग गरिरहेका छन् ।