काठमाण्डौ। नेपाल क्रिकेट सङ्घ (क्यान) र असन्तुष्ट खेलाडीबीच सहमति भएको छ।आज आइतवार भएको सहमति अनुसार क्यानले ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको कारबाही पनि फिर्ता हुने भएको छ ।
यो निर्णय क्यानको बोर्ड बैठकले पारित गर्नेछ। आज सहमतिका लागि भएको बैठकमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई नै दिने विषयमा छलफल भए पनि यो विषयमा थप छलफल गर्नुपर्ने क्यानका पदाधिकारीले बताएका थिए। क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएको मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो। यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो।
कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन्। विवादका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता नै प्रभावित हुने भएपछि क्यानले कप्तान परिवर्तन र कारबाही फिर्ता गर्ने निर्णय गरेको हो । आजको सहमतिपछि भोलि सोमवारदेखि बन्द प्रशिक्षण सुरु हुने भएको छ। ८कप्तान सन्दीप लामिछाने नै यथावत् रहेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।