बैतडी। सुदूरपश्चिमको बृहत्तर विकास योजनाको खाका तयार गर्ने क्रममा बिहीबार बैतडी पुगेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसँग बैतडी जिल्लाका सरोकारवालाहरूले सडक निर्माण तथा सडकहरूको स्तरोन्नतिको माग राखेका छन् ।
बिहीबार जिल्लाको पाटनमा आयोजित कार्यक्रममा सहभागी बैतडीका सरोकारवालाले दशरथचन्द राजमार्गको दिगो रूपले स्तरोन्नति र ग्रामीण सडक कालोपत्रेको माग राखेकाछन्। कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले भने, ‘बैतडीका मुख्य सडक मध्ये दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग कालोपत्रे भत्किएका ठाउँहरूमा टालो हाल्ने काम भइरहेको छ।
तर, फेरि भत्किँदै गएको छ । त्यसैले त्यसलाई दीर्घकालीन रूपमा स्थापित गर्न मजबुत योजना बनाउन जरुरी छ । यसतर्फ म आयोगको ध्यानाकर्षण गराउँछु ।’ यसैगरी जिल्लाका सबै स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने सडकहरू स्तरोन्नति गर्न जरुरी रहेकाले यसतर्फ आयोगको ध्यानाकर्षण गराए । जिल्लाको सूर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले हरेक स्थानीयतहमा बन्दै गरेका चक्रपथहरूका स्तरोन्नति गर्नका लागि योजना बनाउन आग्रह गरे ।
उनले भने, ‘ग्रामीण विकासमा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । त्यसका लागि सडक पहिलो प्राथमिकता हो । प्रायः स्थानीयतहहरूले पालिकाको केन्द्रसम्म पुग्न चक्रपथ निर्माण गरिरहेकाछन्। यी सडकहरूलाई स्तरोन्नति गर्न जरुरी भएकाले दीर्घकालीन योजना बनाउन आयोगको ध्यानाकर्षण गराउँछु।’कार्यक्रममा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सबै सरकारी तथा विकासे कार्यालयका प्रमुखको सहभागिता थियो ।
यातायात, बिद्युत्, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्धन लगायतका योजनाहरू निर्माणमा ध्यान दिन बैतडीका सरोकारवाला निकायका व्यक्तिले माग गरेका छन्। आयोगका उपाध्यक्ष पौडेलले जनता र सरोकारवालासँगको छलफलपछि विकासको खाका तयार गरिने भन्दै छलफलमा उठेका विषयमा ध्यान केन्द्रित भएको बताए। विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनुपर्नेमा उनको जोड थियो । सरकारले पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने उनले बताए ।
बाढी पहिरोले सरकारी संरचना भत्काएको तथा जनताको जीवन अस्तव्यस्त पारेको भन्दै पीडितको पुनर्स्थापनाको माग राखेका सरोकारवाला निकायसँग उपाध्यक्ष पौडेलले यसका लागि योजना निर्माण हुने आश्वासन दिए । आयोगका उपाध्यक्ष पौडेलले कार्यालय प्रमुखहरू र नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग गरी दुई ओटा छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।