बैतडी। सुदुरपश्चिमका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा रहेको पाइएको छ । सरकारले स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै गत वर्ष मंसिर १५ गते देशका ३ सय ९६ स्थानीय तहमा एकै दिन शिलान्यास गरिएपनी योजना कार्यक्रम अघि नबढ्दा निर्माण कार्य अलपत्र परेको पाइएको हो ।
जस अनुसार सुदुरपश्चिम प्रदेशका ५४ ओटा अस्पताल बनाइने योजना थियो । स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरूको शिलान्यास गरेका थिए । जस अनुसार १० शैय्याका ३१ ओटा अस्पताल र १५ शैय्याका २३ ओटा गरी ५४ ओटा आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा रहेका हुन् । सुदुरपश्चिमको बैतडी जिल्ला सहित अन्य जिल्लामा यस्तै अवस्था रहेको पाइएको छ । जसअनुरूप बैतडीका ७ वटा स्थानीय तहमा पनि आधारभूत अस्पताल बनाउने योजना थियो । बैतडीको दोगडाकेदार गाउँपालिका–६ मजगाउँमा अस्पताल निर्माणका लागि सम्याइएको जग्गामा पनी आधारभूत अस्पताल निर्माण योजना अलपत्र अवस्थामा परेको पाइएको छ ।
जिल्लाका पुर्चौडी र पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर, सुर्नया दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अस्पताल निर्माण गर्ने लक्ष्य थियो । तर अहिलेसम्म कुनै पालिकामा पनि आधारभूत अस्पताल बनाउने योजना अघि बढ्न सकेको छैन । अस्पताल कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा धेरै पालिकामा काम अगाडि बढ्न सकेको छैन । पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जग्गा विवादले काम अगाडि बढ्न सकेको छैन । स्थानीयको माग एकातिर छ भने जनप्रतिनिधि अर्कैतिर बनाउने सुरमा रहदा काम अघि बढ्न नसकेको हो । पालिकाका पहुँचमा पुगेका नेताहरूले पनि आफूलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउन खोज्दा पनि धेरै पालिकामा विवाद भएको छ ।
कहाँ बनाउने भन्ने विवादले गर्दा नै पञ्चेश्वर गाउँपालिकामा अस्पताल निर्माणको काम अघि बढ्न नसकेको पालिकाका स्वास्थ्य संयोजक रामसागर शाह बताउँछन् । सरकारले स्वास्थ्यचौकीलाई स्तरोन्नती गरेर बनाउने बताए पनि पालिका भएकै ठाउँमा बनाउने एक थरी स्थानीयको माग भएकोले कामै सुरु हुन नसकेको उनले बताए । ‘पहिलो चरणमा सरकारले तोकेका ठाउँमा स्वास्थ्यचौकीकै जमिन थियो । त्यही बनाउने योजना थियो, माटोको परीक्षण पनि भएको हो,’ शाहले भने, ‘तर स्थानीयले नमानेर पालिका भएकै ठाउँमा बनाउने भनेर काम रोकियो ।’ पालिका भएको स्थानमा जमिन छनोट भएकोले त्यही बनाउने कि भन्ने कुरा चलिरहेको उनले बताए ।
दोगडाकेदार गाउँपालिकामा पनि अहिलेसम्म अस्पताल निर्माणको समय जग खन्नमै बितेको छ । पालिकाको वडा-६ को मजगाउँमा जग्गा सम्याउने काम भइरहेको स्थानीय लक्ष्मी जोशीले बताए । डिलाशैनी गाउँपालिकामा पनि नेताको इच्छाअनुसार स्थानीयलाई पायक नपर्ने ठाउँमा अस्पताल निमार्णको काम सुरु भएको भन्दै विवाद भएको छ । सुरुबाटै विवाद भए पनि निर्माणस्थल सम्याउने काम पालिकाले गरेको छ । जिल्लाको सुर्नया गाउँपालिकामा पनि बल्ल डीपीआर तयार गर्ने कार्य सकिएर छनोट प्रक्रियामा छ ।स्वास्थ्य संयोजक रामसिंह महराका अनुसार अहिलेसम्म सक्नुपर्ने काम सुरु हुने तयारीमा छ । यो योजना शाखाको जिम्मा हुने भएकोले ढिलो हुनुको कारण थाहा नभएको उनले सुनाए । स्वास्थ्य कार्यालयको अधिकारभित्र यो नपर्ने भएकोले आफूहरूलाई जानकारी नआउने स्वास्थ्य कार्यालयले जनाएको छ । मौखिक रूपले जान्न खोज्दा कहीँ पनि कामले तीव्रता पाउन नसकेको जानकारी पाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।