धनगढी। सुदूरपश्चिमका ४२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइएको पाइएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको फार्मेसी सुुपरभाइजर निरीक्षक जयन्द्र बोगटीले जानकारी दिए।
१८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएको बोगटीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा खोप अभियानअन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको जनाइएको छ। कञ्चनपुरसहितका ६ पहाडी जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ११ हजार डोज मोडना खोप धनगढी पठाइएको छ।
कञ्चनपुरका लागि ६३ हजार ३४६ डोज, अछामका लागि ३४ हजार ३२८ डोज, बैतडीका लागि ३१ हजार ६३९ डोज खोप आएको फार्मेसी सुुपरभाइजर निरीक्षक बोगटीले बताए। डोटीका लागि २५ हजार २७५ डोज, बझाङका लागि २४ हजार २० डोज, बाजुराका लागि १६ हजार ८४३ डोज र दार्चुलाका लागि १५ हजार ५७९ डोज खोप पठाइएको उनले बताए ।
संघीय सरकारले पठाएको खोप बुुधबार धनगढी आइपुग्ने र बुुधबारदेखि नै जिल्लालाई वितरण गरिने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । कैलाली र डडेल्धुराका लागि भने संघीय सरकारले नै फाइजर खोप पठाउनेछ । दुवै जिल्लामा अगामी पुस दोस्रो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ ।