डोटी। डोटी जिल्लाको सबैभन्दा अविकसित स्थानीय तहमा बोगटान फुड्सिल गाउँपालिका पथ्र्यो। मुलुक पुनर्संरचनापछि पहिलो स्थानीय तहको निर्वाचन हुँदा बोगटानमा जम्मा ३६ किलोमिटर कच्ची सडक थियो।
जुन गाउँपालिकाको केन्द्र वडा नम्बर ७ चवराचौतारादेखि वडा नं ६ गगुडासम्म मात्रैै पुगेको थियो । डोटीको विकट सातवटा गाविसहरू सिमचौर, केदार, अखडा, कानाचौर, सातफरी, धिर्कामाण्डौ गगुडा र चवराचौतारालाई मिलाएर बनाइएको बोगटान गाउँपालिकाले निर्वाचनपछि विकासमा गति लियो।
त्यो गति अझै तीव्र बनाउने चाहना राखेका छन्, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिलाले । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछिको चार वर्षमा १ सय ८४ किलोमिटर सडक पुगेको छ। सडक सञ्जालले सबै वडा केन्द्र जोडिएका छन् । “धेरैजसो टोलहरू पनि सडक सञ्जालले जोडिएका छन्,” अध्यक्ष गड्सिलाले भने, “अब केही टोल मात्रै सडक सञ्जालले जोड्न बाँकी छ । बनाइएका सडकमा १२ महिना नै सवारी साधन चल्छ । मैले आफ्नै कार्यकालमा सबै टोलमा सडक सञ्जाल पु¥याउँछु भनेर घोषणापत्रमै लेखेको थिएँ । मेरो यो सपना छिट्टै पूरा हुँदै छ।”
गाउँपालिकाले आफ्नो स्रोतले मात्रै नभ्याउने भएकाले सडक निर्माणका लागि प्रदेश र संघ सरकारसँग पनि समन्वय गरेर योजना ल्याएको छ । अध्यक्ष गड्सिलाले आफ्नो घोषणापत्रमा लेखेजस्तै गरी गाउँपालिकाले पहिलो प्राथमिकता दिएर सडक सञ्जाल विस्तार गरिरहेको छ । सडक सञ्जाल विस्तारका लागि वार्षिक ६ देखि ७ करोड रुपैयाँ विनियोजन गर्ने गरेको अध्यक्ष गड्सिलाले बताए । “विकासको पूर्वाधार नै सडक भएको हुनाले हामीले सडकलाई प्राथमिकता थिएका छौं,” उनले भने, “कृषि उत्पादन बेच्नका लागि पनि सडक चाहिने, स्वास्थ्य उपचार र शिक्षा लिन जानका लागि पनि सडक चाहिने, विकास योजनाहरू निर्माण गर्दा पनि सडक चाहिने भएकाले पहिलो प्राथमिकतामा हामीले सडक राखेका हौं ।’
प्रदेश – सुदूरपश्चिम
जिल्ला -डोटी
स्थानीय तह-बोगटान फुड्सिल गाउँपालिका
वडा संख्या – ७
जनसंख्या – १७ हजार ९०२
घरधुरी -३ हजार १३०
क्षेत्रफल – ३२२ वर्गकिमि
वार्षिक बजेट – ४२ करोड
अध्यक्ष – कमल गड्सिला
उपाध्यक्ष – भगवतीदेवी बम
प्रमुख प्रशासकीय अधिकृत – शंकर सूचीकार
बोगटानले गाउँपालिकावासी नागरिकको आयस्तर वृद्धिका लागि दोस्रो प्राथमिकतामा कृषिलाई राखेको छ । उच्च प्राथमिकताका दिइएको कृषि क्षेत्रलाई पकेट क्षेत्रकै रूपमा अगाडि बढाइएको छ । बोगटान गाउँपालिकाले आलुको २, ओखरको १, तरकारीको १, अदुवाको ३, फलफूलको २, बाख्रापालनको २ र मौरीपालनको १ वटा पकेट कार्यक्रम सञ्चालन गरेको छ ।
अध्यक्ष गड्सिलाले बोगटानका अधिकांश नागरिकको प्रमुख पेसा कृषि भएको हुनाले कृषिलाई विशेष प्राथमिकता दिएर पकेट र ब्लक कार्यक्रम सञ्चालन गरेको बताए । उनले गाउँपालिकाको सहयोग पाएका किसानले अदुवा र मह भारत निर्यात गरेको बताए। “कृषि कार्यक्रमले गर्दा किसानहरूको आयस्तर बढेको छ,” अध्यक्ष गड्सिलाले भने, “सडक सञ्जाल जोडिएको हुनाले कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।
गाउँपालिकाले नै पकेट र ब्लक क्षेत्रमा उत्पादन भएको कृषि उपजको बजार व्यवस्थापन गरिदिएको छ।”बोगटानले वार्षिक डेढदेखि दुई करोड रुपैयाँ कृषिको व्यवसायीकरणका लागि छुट्ट्याउने गरेको छ । यस वर्ष २ करोडभन्दा बढी बजेट कृषिको व्यवसायीकरणका लागि छुट्ट्याएको अध्यक्ष गड्सिलाले बताए। उनले कृषि पकेट र ब्लक कार्यक्रमबाहेक विभिन्न अनुदानसमेत दिने गरेको बताए । बाख्रापालन, तरकारी खेती, भैंसीपालन र मासुपसल सञ्चालनमा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गर्दै आएको उनले बताए।
गाउँपालिकाले सञ्चालन गरेको कृषि कार्यक्रमबाहेक प्रदेश सरकारको मुख्यमन्त्री कृषि तथा पशु विकास कार्यक्रमले पनि बाख्रापालन पकेट क्षेत्र सञ्चालनमा सहयोग गरेको अध्यक्ष गड्सिलाले बताए । उनले गाउँपालिकाका किसानले उत्पादन गरेको बाख्रा धनगढीलगायतका सहरमा निर्यात हुनेको बताए। गाउँपालिकामा सिँचाइका योजनाहरू पनि सञ्चालन भएका छन् । १ सयभन्दा बढी सिँचाइ कुलो र पाइपलाइन जडान गरी सिँचाइ सुविधा पु¥याएको अध्यक्ष गड्सिलाले बताए । उनले पकेट क्षेत्रहरूमा पोली हाउस निर्माण गरिएको बताए । यसैगरी शुद्ध खानेपानीका लागि गाउँपालिकाले चार वर्षमा ७० वटा खानेपानी योजनाहरू निर्माण गरेको छ । १५ वटा खानेपानी योजनाहरू यस वर्ष निर्माण भइरहेका छन्। ती योजनाहरू पनि सम्पन्न भएपछि गाउँपालिकाका घरपरिवारले शुद्ध खानेपानीको सुविधा पाउने अध्यक्ष गड्सिलाले बताए ।
गाउँपालिकाले यीबाहेक विद्युत् लाइन विस्तार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई पनि प्राथमिकता दिएर काम गरिरहेको छ । बोगटनाले गाउँपालिकामा उज्यालो गाउँ अभियान नै सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत ६५ प्रतिशत घरधुरीले जलविद्युत् उपभोग गर्न पाएको अध्यक्ष गड्सिलाले बताए । उनले बाँकी ३५ प्रतिशत घरधुरीलाई विद्युत सेवा पु¥याउने अभियान जारी रहेको बताए। स्वास्थ्य क्षेत्रमा समेत गाउँपालिकाले सशक्त ढंगले काम गरिरहेको छ । सबै वडामा स्वास्थ्य केन्द्र निर्माण गरिएको छ । कोभिड–१९ लागेपछि अध्यक्ष गड्सिलाले आफूले चढ्ने गाडीलाई एम्बुलेन्स बनाएर गाउँपालिकालाई निःशुल्क देवा दिन थाले । गाउँपालिकाको सो एम्बुलेन्स अब सधैँभरि जनतालाई निःशुक्ल सेवा दिने गरी निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाभित्रैको स्वास्थ्य संस्थामा जान र त्यहाँबाट रिफर भएर देशका अन्य अस्पतालमा जानका लागि गाउँपालिकाले आफ्नै खर्चमा सेवा पु¥याउने गरेको छ । आफू चढ्ने गाडी एम्बुलेन्स बनाएका अध्यक्ष गड्सिलाले सार्वजनिक सवारी साधन, व्यक्तिगत मोटरसाइकल र कहिलेकाहीं गाउँपालिकाको मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।