बझाङ। बझाङमा चल्ने बोलेरो जिप व्यवसायीले मनपरी भाडा लिने गरेको पाइएको छ । पटकपटक जिल्ला प्रशासन कार्यालय बझाङले भाडादर निर्धारण गरे पनि त्यसको विपरित जिप व्यवसायीले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालयले जिप व्यवसायीलाई नै राखेर पक्की सडकखण्डमा प्रति किलोमिटर ७ रुपैयाँ २५ पैसा र ग्रामीण सडकमा १२ रुपैयाँ निर्धारण गरेको थियो । तर सवारीधनीले अहिले प्रतिकिलोमिटर पक्की सडकमा १२ देखि १५ रुपैयाँ लिने गरेको जयपृथ्वी नगरपालिका–७ का स्थानीय रामप्रसाद जोशीले बताए ।
चैनपुरदेखि ४ किलोमिटरको दूरीमा रहेको सुबेडासम्म जिप व्यवसायीले ५० रुपैयाँ भाडा लिने गरेको उनले बताए । प्रशासनले निर्धारण गरेको भाडादर पनि नटाँस्ने गरेको पाइएको छ । सार्वजनिक जिप व्यवसायीले जिल्ला सदरमुकाम चैनपुरदेखि तल्कोटसम्मको भाडादर मात्रै पाँच सय रुपैयाँभन्दा बढी लिने गरेका यात्रुको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादरअनुसार चैनपुरदेखि तल्कोटसम्म ३६० रुपैयाँ मात्र भाडा लिनुपर्ने हुन्छ । तर, जिप व्यवसायीयले भने दोब्बर रुपैयाँ असुल्ने गरेका तलकोट गाँउपालिका –३ रूपातोलाका स्थानीय गणेश जोशीले बताए। यता चैनपुरदेखि कैलाशसम्म चल्ने जिपहरूले पनि मनपरी भाडा लिने गरेका छन् । चैनपुरदेखि कैलाशसम्म १३ किलोमिटर सडकमा प्रशासनले निर्धारण गरेको भाडा अनुरूप बढीमा १५६ रुपैयाँ लिनुपर्ने भएपनि जिप व्यवसायीले त्यसको दोब्बर ३ सय रुपैयाँसम्म असुल्ने गरेका छन्।
भाडा मापदण्डभन्दा किन बढी लिएको भनेर प्रश्न गर्दा उल्टै जिप चालकले धम्की दिने गरेको स्थानीय गंग सिंहले गुनासो गरे । पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाले प्रशासनले निर्धारण गरेको भाडादरमा सवारी साधन सञ्चालन गर्न नसकिने जिप व्यवसायी बताउँछन्। सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै भाडादर हेरफेर गराइनुपर्ने जिप व्यवसायी मनबहादुर बोहराले बताए ।