बझाङ। बझाङमा २८ किलो चरेस सहित पक्राउ परेकी एक महिलाद्धारा हिरासत भित्रै आत्महत्याको प्रयास गरेकी छन । लागु औसध चरेस सहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका ३ की कल्पना रोकायाले झुण्डीएर आत्महत्याको प्रयास गरेकी हुन्।
मंसिर १४ गते २८ किलो चरेस सहित पक्राउ परेकी रोकायाले झुण्डीएर आत्महत्याको प्रयास गरेको बझाङ प्रहरीले जनाएको छ।अनुसन्धानको लागि दोस्रो पटक म्याद थप गर्ने तयारी हुदै गर्दा सौचालय जाने बहाना बनाएर उनले जिल्ला प्रहरी कार्यालयको हिरासतको सौचालय भित्रै झुण्डिएकी थिइन।
आफुले प्रयोग गर्ने गरेको तौलियालाई सौचालयको भेन्टिलेसनमा रहेको रडमा बाँधेर उनले आत्महत्याको प्रयास गरेको बझाङका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विस्टले बताए । ‘पहिले नै योजना बनाएकी रहेछिन’ विस्टले भने ‘पासो लाउन प्रयोग गरेको तौलिया लचकदार भएकोले उनको ज्यान जान पाएन’ रोकायाले पासो लगाइसके पछि चिच्याएको सुनेर त्यहा“ रहेका महिला प्रहरीहरुले सौचालयको ढोका फोरी उनको उद्धार गरेको विस्टले बताए।
तौलिया लचकदार भएको कारण तन्किएर भुई छोएकोले उनको ज्यान बचेको विस्टको भनाई छ। उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ । केहीबेरको उपचार पछि होस आएको र उनको अवस्था खतरामुक्त रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। ‘अहिले होस आइसकेको छ । दुइतिन दिन अरु निगरानी गरे पछि डिस्चार्ज हुन्छ’ खड्काले भने। रोकायाले हिरासतमा फेरी पनि आत्महत्याको प्रयास गर्न सक्ने भएकोले प्रहरीले विषेश निगरानी गर्ने डिएसपी विस्टले जानकारी दिए । ‘कस्तो सुरक्षा व्यवस्था गर्ने भनेर सरकारी वकिल सँग सल्लाह गरिरहेका छौ । फेरी पनि उनले यस्तो प्रयास गर्न सक्छिन भन्नेमा हामी सर्तक छौ’ विस्टले भने । यस अघी मंसिर ४ गते नै प्रहरी हिरासतमा एक वृद्धाको पनि मृत्यु भएको थियो । आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्धाको अनुसन्धानको लागि हिरासतमा रहेकी केदारस्यु“ गाउ“पालिका–२ की ७७ वर्षीया विष्णादेवी रावलको हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हृदयघातको कारण मृत्यू भएको चिकित्सकहरुले बताएका छन ।