बैतडी। बैतडीमा भारतबाट फर्केकाहरुले सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। भारतमा पनि कोरोना नयाँ भेरियन्ट ‘ओमीक्रोन’को संक्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो।
कोरोनाको नयाँ भेरियन्ट नफैलियोस भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टाइनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहहरुलाई पत्राचार समेत गरिएको उनले बताए ।
यस्तै सीमा नाका झुलाघाटबाट फर्कने नागरिकहरुको एन्टीजेन टेस्ट गर्ने गरिएको र उनीहरुलाई क्वारेन्टाइनमा बस्नका लागि सल्लाह दिने गरिएको सूचना अधिकारी भारतीले बताए । कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाई गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य खोप कार्ड लैजानुपर्ने भएको छ। कोरोना विरुद्धको खोप लगाएको कार्ड भएमात्रै भारत पस्न दिने भारतीय प्रशासनले जनाएको छ ।पिथौरागढ जिल्लाधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेहरुलाई अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । कार्ड नभएकाहरुलाई सीमाबाट जान नदिने भारतले जनाएको छ ।