धनगढी। विद्यार्थीकालदेखि नै नेबिसंघको राजनितिमा लागेका बीर बहादुर बलायरको जन्म २०२२ साल भदौ ४ गते डोटीको लाटामाण्डौ ६ वैरकोटमा भएको हो । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तरगत भएको काङ्ग्रेस सुदूरपश्चिम अधिबेसनको सभापतिमा बलायर विजयी भएका छन्।
पूर्वमन्त्रीसमेत रहेका बलायरले कूल खसेको १ हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका छन् । बलायर ४ सय ८ मत अन्तरले विजयी भएका हुन् । बलायर संस्थापन र मिश्र संस्थापन इतर पक्षका हुन् । ५६ वर्षीय बलायर डोटीको लाटामाण्डौँ अर्थात अहिलेको शिखर नगरपालिका–८ मा बाबु स्व. बामबहादुर बलायर र आमा डम्मरीदेवीको कोखबाट जन्मेका बलायरले प्राथमिक शिक्षा गाउँकै लाटामाण्डौ प्राथमिक विद्यालयबाट हाँसिल गरेका थिए ।
प्राथमिक शिक्षा गाउँकै लाटामाण्डौ प्राथमिक विद्यालयबाट हाँसिल गरेका बलायर डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । एसएलसी पास गरेपछि कञ्चनपुरको महेन्द्रनगर स्थित सिद्धनाथ बहुमुखी क्याम्पसबाट आइएस्सी गरेपछि उच्च शिक्षा हाँसिल गर्न काठमाडौँ गए । उनी उतैबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । मुख्यतः विसं २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका बलायर २०३६ सालमा झन् सक्रिय रूपमा राजनीतिमा लागेका हुन् । ४ वर्ष बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता हुन् । लडाकु स्वभावका बलायर २०४६ सालमा लौहपुरुष गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जन आन्दोलनको घोषणा हुदै गर्दा त्यो घोषणा सभाको सुरक्षा संयोजक थिए । पार्टीका नेताहरुको सुरक्षा र जनआन्दोलनमा युवाहरुलाई परिचालनमा बलायरले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताईन्छ ।
२०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर, निर्वाचनमा पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्ने सुदूरपश्चिमका दुई नेताले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पार्ने प्रयास गरेका तत्कालीन अवस्थामा आरोप थियो । विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तर्घात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए । अन्तर्घात गरेर किसुनजीलाई हराएको भन्दै बलायर, रामहरी खतिवडा लगायतका युवाहरूले त्यसबेला बानेश्वरमा गिरिजाको तस्वीरमा कालोमोसो दलेका थिए । त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा र २०५१ सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा बलायर खेलेको भूमिका निकै चर्चामा थियो ।
उनी बिराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा अध्यक्षको दावेदार थिए । तर अध्यक्ष बनाईए, गोविन्द भट्राई । प्रजातन्त्र पुनस्र्थापना र लोकतन्त्रका लागि अविचलित भएर लडेका बलायरले पहिलो पटक २०६४ सालमा संबिधान सभाको उम्मेदवार बन्ने मौका पाए । तर पराजीत भए । २०७० सालको संबिधान सभाको निर्वाचनमा काँग्रेसले उनलाई पुनः टिकट दियो । र, उनले चुनाव जिते । त्यसपछि उनले पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकारमा भौतिक पूर्बाधार मन्त्री तथा यातायात मन्त्रीको जिम्मेवारी पाए । एनपी साउद नेतृत्वको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्र भए पनि नेविसंघका चर्चित नेताकै रूपमा बलायरलाई लिएको थियो । बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । भारत, चीन, अमेरिका, थाइल्याण्ड, कतार, हङकङ, पेरु लगायतका देशहरू भ्रमण गरिसकेका छन् । १२ औं महाधिवेशनमा नेपाली काँग्रेस डोटी सभापति भएका बलायर १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए । सन्त नेता कृष्ण प्रसाद भट्टराईसंग नजिक रहेर काम गरेका बलायर नेपाली काँग्रेस बिभाजनपछि शेर बहादुर देउवाको पक्षमा उभिए । उनी त्यसयता सधै देउवा निकट रहे । देउवाको विश्वास पात्र भएकै कारण उनले सुदूर पश्चिम प्रदेश सभापतिको टिकट पाएका हुन् ।
कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिमा पाँच जना आकांक्षी थिए । पाँचै जनाले उम्मेदवारी घोषणा पनि गरिसकेका थिए ।नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तरगत भएको काङ्ग्रेस सुदूरपश्चिम अधिबेसनको सभापतिमा दौडधुप चलिरहेको थियो । त्यतिबेलासम्म सभापतिको दौडमा थिएनन्, वीरबहादुर बलायर । यद्यपि उनी धनगढीमै थिए । र, सबैका घोषणालाई नेपथ्यमा बसेर हेरिरहेका थिए। परिस्थिति यस्तो बन्यो कि, उम्मेदवारी घोषणा गर्नेहरु सबैलाई पाखा लगाएर संस्थापन पक्षले आफ्नो सभापतिको उम्मेदवार घोषणा गरिदियो, बलायरलाई । संस्थापनका दुई नेता रमेश लेखक र एनपी साँउद जिल्लामा कहिल्यै एक भएनन, कहिल्यै संगै हिडेनन । तर बलायरलाई भने दुबै नेता साझा उम्मेदवार बनाउन बाध्य भए । उनीहरु एक ठाउँमा आउने परिस्थिति भने बालुवाटारको निर्देशनबाट संभव भएको थियो । सभापतिको दौडमा रहेका नर नारायण शाहलाई महामन्त्री बनाउने निर्णय हुदा अन्य उम्मेदवार र सभापतिका आकांक्षी भीडमा हराईसकेका थिए । शाहलाई साथमा नलिई बलायर नेतृत्वको प्यानल चुनाव जित्न नसकिने मनशायले शाहलाई महामन्त्रीमा उठाउने निर्णय गरियो । ५७ वर्षीय बलायर विद्यार्थीकालमा युवाहरुमाझ निकै चर्चित थिए।