धनगढी। धनगढीमा ट्राफिक प्रहरीले पार्किङमा सक्रियता बढाएको छ । धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरिएका गाडीमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउने अभियान सुरु गरेको छ। सडक अवरुद्ध हुने गरी जथाभावी पार्किङक गरिएका तथा निषेधित स्थानमा पार्क गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाइने जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ।
अव्यवस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढाउने भएकाले अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए । सोमबारदेखि सुरु गरिएको उक्त अभियानमा चारपाङ्ग्रे सवारी साधनमा ‘ह्विल लक’ लगाएर चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको स्टीकर टाँस्नसमेत सुरु गरेको छ ।कैलाली जिल्लाभर बेलुका ५ बजेदेखि ७ बजेसम्म मापसे चेकजाँच समेत गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक सिंहले जानकारी दिए । ट्राफिक चौराहा, एलएन चोक, अस्पताल लाईन र बसपार्क लगायतका मुख्य सडक क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ्ग गरेका सवारी साधनमा ह्वील लकु लगाइने जनाएको छ । उनका अनुसार सोमबार पहिलो दिन धनगढीको मुख्य सडकामा राखिएका सवारी साधनमा लक लगाईएको जनाएको छ । अबदेखि नो पार्किङमा रहेका सवारी साधनमा तुरुन्त ह्विल लक लगाउने र कारबाही गर्ने उनले बताए ।