बैतडी। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बैतडीमा कांग्रेसका पुराना नेताहरु पराजित भएका छन्। पूर्व वाणिज्यराज्यमन्त्री नरबहादुर चन्द र पूर्व पार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।
वैचारिक र बौद्धिक नेताका रुपमा गनिने नरबहादुर चन्द विगतमा शेरबहादुर देउवा पक्षका नेताको रुपमा रहेका थिए । तर यो पालि सो समूहले महाधिवेशन प्रतिनिधिमा ठाउँ नदिएपछि उनी बिना प्यानल चुनावी मैदानमा होमिएका थिए । चन्दले जम्मा २४० मत मात्रै प्राप्त गरे ।
यस्तै पार्टीका पूर्व मुख्य सचेतक विनयध्वज चन्द पनि पराजित भएका छन् । विपी विचार राष्ट्रिय समाजका महासचिव समेत रहेका चन्द दुई पटक बैतडीबाट सांसदमा निर्वाचित भएका थिए । उनी भट्ट प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वार बनेका थिए । उनी ५१५ मत ल्याएर पराजित भएका छन् ।