कैलाली। डोटीमा नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुने भएको छ। मंगलवार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो।
मंगलबार बिहान सम्पन्न भएको मतगणना अनुसार १ हजार ८५ मत खसेकोमा नरेन्द्रबहादुर सिंहले ३ सय ५८, भूमिराज बडूले ३ सय ४२, प्रदीपकुमार देउवाले २ सय १४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत पाए। जसमा ४८ मत बदर भएका थिए।
सर्वाधिक मत ल्याउने सिंह र बडूबिच फेरि सभापतिका लागि चुनाव हुने निर्वाचन समितिले जनाएको छ। वर्तमान सभापति देउवा भने पहिलो चरणको चुनावबाटै बाहिरिएका छन्। सिंह र बडूले तेस्रो भएका देउवा, चौथो भएका नरबहादुर ढाँट र पाँचौँ भएका टेकराज ओझाको साथ लिन सक्ने छन्।