काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् । मंसिर १० गतेदेखि चितवनमा हुने महाधिवेशनका लागि रावलले उम्मेदवारी घोषणा गर्ने भएका हुन्। उम्मेद्वारी घोषणा गर्न रावलले आज आइतबार दिउँसो ३ बजे भृकुटी मण्डपमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन्। एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न भन्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेका हुन्।एमालेका नेताहरुले सर्वसम्मत रुपमा अध्यक्ष पदमा फेरि केपी शर्मा ओलीलाई अघि सारिरहेका बेला रावलले चुनौती दिन लागेका हुन्। माधवकुमार नेपालको साथ छाडेर एमालेमै फर्किएका रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन्।
तर, उनले कुन पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको खुलाएका छैनन् । उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेको उनीनिकट स्रोतले जनाएको छ । यसअघि उनले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै बताइसकेका छन् ।