अछाम। अछामको साँफेबगरबाट जहाजको टिकट पाउनै मुस्किल भएको गुनासो गरिएको छ । अछामको साँफेबगरबाट धनगढीसम्म हवाईजहाज मार्फत जानका लागी टिकटकालागी पहल गरीएपनी टिकट पाउनै मुस्किल भएको गुनासो गरिएको हो। अछामको मंगलसेन नगरपालिका-७ का कान्तप्रसाद जैसीले दुई दिनसम्म जहाजको टिकट पाएनन् ।
बुहारी सिकिस्त बिरामी भएकाले उपचारकालागि धनगढी लैजान बाह्र घण्टा गाडीमा लैजान गाह्रो भएकाले उनी जहाजको खोजीमा थिए । तर टिकट पाएनन् । पाँच दिनसम्मका लागि टिकट बुक भइसकेको रहेछ उनले भने । त्यै पनि दुई दिन अगाडि त मैले खोजी गरेको हो । टिकट पाउनका लागि पनि पहुँच नै चाहिने रहेछ भन्ने महसुस भयो उनले भने।’ यस्तैकमलबजार नगरपालिका १ का धनबहादुर विष्टले पनि छोरीलाई धनगढीसम्म उपचारका लागि हवाईजहाजबाट लैजानका लागि धेरै पहल गरेका थिए ।
जिल्ला अस्पताल मंगलसेनमा उपचाररत छोरीलाई थप उपचारका लागि धनगढी लैजान उनलाई जहाजको टिकट आवश्यक परेको थियो। साँफेबगरबाट धनगढीसम्म जहाज चल्छ भन्ने सामान्य जानकारी पाएका धनबहादुरले टिकटका लागि आफूले चिनेजानेका सबैलाई गुहारे । तर टिकट पाएनन् । साँफेबगरबाट प्लेन चल्यो भनेर हामी सर्वसाधारणलाई कुनै हर्ष छैन । त्यो प्लेन त पहुँच भएका, ठूला नेता, उनीहरूका कार्यकर्ता र पहुँच भएका कर्मचारीका लागि मात्रै चलेको हो भन्ने लाग्छ’ उनले भने ,‘मजस्ता सर्वसाधारण मान्छेले सधैं जहाज चढ्नलाई आर्थिक अवस्थाले भ्याउदैन ।
अप्ठेरो परेको बेला त हो हामीलाई आवश्यक पर्ने । त्यो पनि पाइँदैन भने प्लेन चलेकोमा हामी जस्ता सर्वसाधारणले खुसी हुनुपर्ने कारण के छ र उनले भने ।’०५८ फागुन ४ मा तत्कालीन माओवादीले सदरमुकामसँगै साँफेबगरमा आक्रमण गरेपछि विमानस्थलको टावर ध्वस्त हुँदा विमानस्थल बन्द थियो । लामो समयको प्रयासपछि साँफेबगरमा रहेको विमानस्थल सञ्चालनमा आयो । विमानस्थल सञ्चालनमा आएपछि कम्तीमा बाह्र घण्टा लगाएर धनगढी र नेपालगन्जका अस्पतालमा पुर्याउनुपर्ने बिरामीलाई आपत्कालीन अवस्थामा १७ मिनेटमा धनगढी पुग्ने आशा पलाएको थियो ।
तर नियमित रूपमा हवाईजहाज सञ्चालनमा आएको दुई वर्ष हुन लाग्दा पनि अछामका सर्वसाधारणले जहाजको टिकट पाउन सकेका छैन । सरकारी जहाज नआउने र निजी क्षेत्रको समिट एयरलाइन्सले दैनिक साँफेबगरबाट धनगढी उडाउन भर्दै आएको छ । साँफेबगरबाट नेपालगन्ज हप्तामा एक दिन उडान गर्दै आएको छ । नियमित रूपमा हवाईजहाज सञ्चालन भए पनि टिकट पाउनै कम्तीमा एक हप्ता अघि जहाजको टिकटका बुक गर्नुपर्ने अवस्थाले यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।
प्राइभेट कम्पनी समिट एयरलाइन्सले विभिन्न जोखिम मोल्दै दैनिक उडान भरिरहेको समिट एयरका ग्राउन्ड सर्पोट एजेन्सी तेजबहादुर कुवँर बताउँछन् । ‘हाम्रो व्यावसायिक उडान हो । जो पहिले हाम्रो सम्पर्कमा आउँछ , उसैलाई हामीले सिट दिने हो,’ उनले भने, ‘सुरुवाती चरणमा हामीले मान्छे नपाएर दैनिक ५० हजारभन्दा बढी घाटा हुँदा पनि प्लेन सञ्चालनमा ल्यायौं । अहिले दैनिक ५० जनाभन्दा बढी टिकटका लागि सम्पर्कमा आउँछन् । कहिलेकहीं एक दिनमा तीन वटा फ्लाइट हुँदा पनि पुर्याउन मुस्किल भइरहेको छ ।’कुँवरका अनुसार अहिले अछामको साँफेबगरबाट धनगढीसम्म ३८ सय ५० रुपैयाँ भाडा छ ।
‘हामीलाई प्लेन टिकट दिनुहोस् भनेर नेताहरूको अनावश्यक दबाब आउँछ । आफ्नो पावर देखाउन खोज्छन् । टिकटका लागि नेताहरूले दबाब दिन थालेपछि मोबाइलसमेत अफ गरेर राखेको छु।’जिल्लामा अति आवश्यक व्यक्तिलाई दैनिक कोटा राख्न तयार भए पनि जिल्ला प्रशासन कार्यालय मान्न तयार नभएको उनले बताए । ‘तत्काल उद्धार गर्नै पर्ने व्यक्तिका लागि दैनिक कोटा राख्न तयार छौं । तर यात्रु भए पनि नभए पनि कोटा छुट्याइसकेपछि प्रशासनले पैसा दिनुपर्छ भन्दा अछाम र बाजुराका सीडीओ मान्न तयार हुनुभएन,’ कुवँरले भने, ‘हामीले सिट छुट्याएपछि प्रशासनले मान्छे पठाएन भने खाली लैजानुपर्छ ।’