दार्चुला। केन्द्रीय तथ्याङ्क विभागले लिपुलेक र लिम्पियाधुराको जनगणना नछुट्ने स्पष्ट पारेको छ । जनतामा अन्यौलता छाएको भन्दै विभागले बिहीबार दार्चुलाको व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाकोगणना गरिने स्पष्ट पारेको हो ।
मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रको विषयमा सरकार स्पष्ट भएर गणना गर्ने तयारी सुरु गरेको तथ्याङ्क शाखा प्रमुख ढूण्डीराज लामिछानेले जानकारी दिए । विभागले राष्ट्रिय जनगणनालाई असहयोग गर्नु राष्ट्रहित विपरीत भन्दै गणनामा सहयोग गर्न अनुरोध समेत गरेको छ । बिहीबार सार्वजनिक विज्ञप्तिमा विभागले गणना खटिएका गणकमाथि विभिन्न सङ्घसङ्गठनले अपमान र दुर्व्यवहार गर्दै गणनामा असहयोग गरेको प्रति अपत्ति जनाएको छ ।
राष्ट्रिय कार्यक्रम भएकाले यसमा सबै समुदायसँग पटक–पटक छलफल गरेर समान सहभागिता हुने गरी प्रश्नावली तयार परेको प्रमुख लामिछानेले बताए । पछिल्लो समय सङ्घसङ्स्थाले गणकमाथि आफूखुसी जानकारी टिपोर्ट गर्न लगाएको भन्दै त्यसो नगर्न विभागले अनुरोध गरेको छ । तथ्याङ्क विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म घरघरमा पुगेर राष्ट्रिय जनगणना सुरु गरेको छ ।
विभिन्न प्रायोजनमा जातीय सङ्घरसङ्स्थाले आफ्नो इच्छाअनुसार जानकारी टिप्न दबाब दिनु राज्यको हितमा नभएको विभागले विज्ञप्तिमा स्पष्ट पारेको छ । प्रत्येक १० वर्षमा हुने गणनालाई आम नेपालीले आफ्नो अधिकारको रुपमा लिएर सबैले सहयोग गर्न विभागले अनुरोध गरेको छ । विभागले सात वटा प्रदेश कार्यालय, ७७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर जनगणनाका लागि देशभर ३९ हजार गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ।