बैतडी। नेपाली कांग्रेस बैतडीले जिल्ला सदरमुकामका चार वटा विद्यालय बन्द गर्न पत्राचार गरेको छ। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका लागि मंसिर ४ गतेदेखि ७ गतेसम्म विद्यालय बन्द गरी भवन तथा डेस्क बेन्च सहयोग गर्न पत्र पठाएको हो।
दशरथ चन्द नगरपालिकाका मेयर समेत रहेका नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाले विरेन्द्र मावि शाहीलेक, जगदम्बा मावि रानिबुंगा,दशरथचन्द मावि सुन्दरखाली र दशरथचन्द आधारभूत विद्यालय गढीलाई अधिवेशनकालागि चार दिन विद्यालय बन्द गर्न पत्राचार गरेका हुन्।
थापाले नेपाली कांग्रेस र नगरपालिका दुवैका तर्फबाट विद्यालयहरूलाई पत्र लेखेका छन्। कोरोना महामारीका कारण बन्द रहेका बैतडीका विद्यालयहरूमा केही समयअघि मात्र पठनपाठन सुरु भएको थियो। दसैँ र तिहारमा बन्द भएका विद्यालयहरू एक साताअघि मात्र खुलेका थिए। पार्टीको कार्यक्रमका लागि ४ दिनसम्म विद्यालय बन्द गर्न भनिएपछि चौतर्फी विरोध भएको छ।
राजनीतिक दलले पार्टीको कार्यक्रमका लागि विद्यालय बन्द गर्न लगाउनु निन्दनीय काम भएको अनेरास्ववियुका जिल्ला संयोजक सन्तोष रानाले बताए। विद्यालय बन्द गर्ने निर्णय तत्काल फिर्ता गर्न आग्रह गर्दै रानाले फिर्ता नगरिए सशक्त प्रतिरोध गरिने बताए। विद्यालय बन्द गर्न पत्र आएपछि जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय एकाइसँग परामर्श लिने काम भइरहेको विरेन्द्र मावि शाहीलेकका प्राचार्य कैलाश कनौजीयाले बताए ।