धनगढी। चाडपर्व लगत्तै रोजगारीका लागी भारत जाने बढेका छन् । दशै तिहार मनाउन स्वदेश फर्किएका सुदुरपश्चिमेलीहरु पुनः कामको सिलसिलामा भारत जान थालेका हुन् ।
चाडपर्व मनाउन केही दिनको बिदामा घर आएका सुदुरपश्चिमेलीहरु निधारको रातो टिका नपुछिदै पुनः भारत जान बाध्य भएका हुन् । हिउँदेबाली लगाउने समय र घरमा कामको चटारोलाई थाँती राख्दै युवा, बयस्क देखी बृद्ध उमेर समुहका उनीहरु काम गर्न भारत जान थालेपछि गाउँघर सुनसान बन्न थालेका छन् ।अहिले दैनिक जसो उनीहरु रोजगारीका लागी भारतका बिभिन्न सहरहरुमा काम गर्न सिमानाका गौरीफन्टामा जम्मा भएका देखीन्छन् । सुदुरपश्चिमका पहाडी जिल्ला देखी काँधमा झोला बोक्दै निधारमा रातो टिका नपुछिदै सिमानाकामा लाईनमा उभिएका देखीन्छन् । दशै तिहारका लागी घर आएका कञ्चनपुर बुटाबारीका जगत बिक र करन बुढाले कामकै लागी भारत जान लागेको बताए । अब काम पाइने नपाईने भारतमै गएर थाहा हुने उनले बताए ।
भारतमा काम गर्दै आएकोले त्यहाँबाट साहुले छिटो भन्दा छिटो आउन भनेको नत्र अर्को मान्छे राख्ने दवाब दिएकाले छिट्टै जान परेको उनको भनाई छ । कामको खोजीमा तिन चार सय देखी छ सात सय जना भारत गइरहेका छन् । बेरोजगारका कारण बर्षेनी काम खोज्न भारत जानुपर्ने बाध्यता र यस बर्ष बेमौसमी बर्षाका कारण धानबालीमा क्षती गरेपछि खान लाउन नपुग्ने भएपछि छिट्टै भारत गइरहेको उनीहरुले बताएका छन् । तिहार भन्दा एक दुई दिन अघि आएका कञ्चनपुरका भिम बहादुर रावलले आफु सहित ५ जना भारतमा काम गर्न जान लागेको बताए । कैलालीको लम्की चुहा ४ का प्रेम बजगाईँले देशमा बेरोजगारीको समस्या कायमै रहेकाले पुनः भारतमा जान लागेको बताए ।
यस्तै धनगढी शिवनगरका चक्र रोकाया पनी पिठ्यूमा झाला बोक्दै सिमानाकामा लाईनमै रहेका छन् । उनले काम नभएर भारतमा जान लागेको भने । उनले घरमा खान लाउन पैसाको समस्या र घरपरिवार पाल्नकै लागी नौकरी खोज्न गइरहेको बताए । सरकारले रोजगार दिएपनी आफन्तलाई लगाउने, पहुँचबालाले मात्रै काम पाउने र हामी जस्ता बास्तबिक बेरोजगार काम नपाएको उनले गुनासो गरे । प्रत्येक बर्ष बेरोजगारका कारण हजारौँसुदुरपश्चिमेलीहरु रोजगारकै खोजीमा भारत जान थालेका छन् । तिन तहकै सरकारले रोजगारका बिभिन्न कार्यक्रम ल्याएको घोषणा गरेपनी ५ बर्ष पुग्नै लाग्दा पनी अझै बेरोजगारहरुले रोजगार नै पाउन सकेका छन् । तसर्थ यस तर्फ तिन तहकै सरकारको ध्यान कहिले जाने ?