काठमाडौं। राष्ट्रिय जनगणना २०७८ आज (बिहीबार) देखि सुरु भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो ।
नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् ।
जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए। राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरेर जनगणना सुरु गरिन लागेको हो । ९ः ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिने कार्यक्रम छ।
यस्तै प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी जनगणनाको प्रारम्भ गरिने विभागले जनाएको छ । सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा विहीबार बिहान भिडिओ सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबैमा यस्तो अपिल गरेका हुन् ।