धनगढी। कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
कैलालीको टीकापुर १ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको हो । लम्कीचुहा नगरपालिका -१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरेको छ।
पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। यस्तै, टीकापुर नगरपालिका-१ बस्ने २३ वर्षीय प्रबीन रिमाल, टीकापुर नगरपालिका -१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह रहेका छन्।
अपरिचित व्यक्तिहरुको धारिलो हतियार प्रहारबाट भुपेन्द्र गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टिकापुरबाट प्रहरी टोली परिचालन गरी तत्काल घाइतेलाई उपचारको लागि टीकापुर अस्पताल लगेकोमा उपचारको क्रममा बडुवालको मृत्यु भएको थियो। घटनास्थलबाट सु.प.प्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। सोही बिषयलाई लिएर मृतकका आफन्तहरुले चिसापानी बजारस्थित महेश रावलको संगम होटल, भैरव शाही र राजबहादुर शाहीको घरमा ढुंगामुडा गर्दा सामान्य क्षति भएको छ। साथै उनीहरुले लम्कीचुहा नगरपालिका-१ स्थित लम्की चोकमा पूर्वपश्चिम राजमार्ग समेत अवरोध गरेकोले हटाउने पहल भइरहेको छ। घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।