धनगढी : बैतडीको सुर्नया गाउँपालिका २ पलेटाकी एक किशोरी बेपत्ता भएकी छिन् । बैतडीको सुर्नया गाउँपालिका वडा नं २ पलेटा घर भएकी १६ बर्षीया उपासना चन्द बेपत्ता भएकी हुन् ।
दाई मोहनबहादुर चन्दको अछाम टाटिखानस्थित सिलाई पसलमा सिलाई सिक्दै आएकी चन्द गत कार्तिक ११ गते बेलुका ४ बजे बाट बेपत्ता भएकी किशोरीका बुवा लोक बहादुर चन्दले बताए । बेपत्ता किशोरीको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइएको छ ।
किशोरीलाई सुर्नया २ स्थित सतबाँझ प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गजेन्द्र बिष्टले भगाएको आरोप परिवारले लगाएको छ । किशोरीका दाई रोहित चन्दले बहिनिलाई प्रहरी हवल्दार बिष्टलेनै भगाएको आरोप लगाए । बिगतबाटै बहिनिसंग हवल्दार बिष्ट नजिक भएको परिवारले थाहा पाएर हप्काएको उनले बताए । पछि प्रहरी हवल्दार बिष्टसंग भएको मेसेज र भ्वाइस कल रेकर्ड समेत फेला परेकाले उनलेनै बहिनिलाई भगाएको दाई रोहितको दावी छ ।
यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरिक्षक रमेश बहादूर पालले पिडित पक्षबाट निवेदन आइसकेको र किशोरीको खोजी कार्य जारी रहेको बताए । निवेदनमा हराएको भनेर आएपनि परिवारले प्रहरी हवल्दार गजेन्द्र बिष्टलेनै लगेको दावी गरिरहेको प्रहरी नायब उपरिक्षक पालले बताए । हाल प्रहरी हवल्दार बिष्ट बिदामा रहेको भन्दै पालले ड्युटिमा उपस्थित भएसंगै सोधपुछ तथा छानबिन प्रक्रिया अगाडी बढाइने बताए ।
प्रहरी अवल्दार बिष्टलेनै किशोरीलाई लगेको भेटिए आवश्यक कार्वाही हुने पालले बताए । प्रहरी हवल्दार बिष्टको बिवाह तथा छोराछोरी समेत रहेकोले प्रमाणित भए उनलाई बहुबिबाह र बाल बिबाहको मुद्धा चल्ने उनले बताए ।