कञ्चनपुर। किनमेल, स्वास्थ्य उपचार तथा रोजगारीका लागि भारततर्फ जाने नेपालीहरूको एण्टिजेन परीक्षण सुरु गरिएको छ । भारतीय पक्षले यसै सातादेखि परीक्षण गर्न थालेको हो । कञ्चनपुरको ब्रह्मदेव नाका हुँदै भारततर्फ जानेहरुको टनकपुर ब्यारेजमा एन्टिजेन परीक्षण गरिएको छ ।
चाडपर्वका समयमा किनमेलका लागि सीमावर्ती बजार जानेको संख्या बढेको थियो । यसैलाई मध्यनजर गरी एन्टिजेन परीक्षण सुरु गरिएको हो । रोजगारीका लागि जाने सबैको र किनमेलका लागि जानेमध्ये ज्वरो आएकाहरूको परीक्षण भइरहेको स्थानीयले बताए ।‘यहाँबाट जाने अधिकांशको परीक्षण भइरहेको छ,’ गड्डाचौकीका स्थानीय विष्णु भाटले भने, ‘पोजिटिभ आएपछि घर फिर्ता पठाइदिन्छन् ।’
उनकाअनुसार भीड कम भएका बेला सबैको र भीड बढी भएका बेला स्वास्थ्य परीक्षणपश्चात् लक्षण देखिएकाहरूको परीक्षण भइरहेको छ ।तिहार अघिदेखि नाकामा भारततर्फ परीक्षण सुरु भएको हो । ब्रह्मदेव र बनबासामा स्वास्थ्यकर्मीहरूको टोलीले स्वास्थ्य परीक्षणपश्चात् एन्टिजेन परीक्षण गरिरहेका हुन् । तिहारको अवधिमा दैनिक हजारौंको संख्यामा स्थानीयहरू पूजा सामग्रीदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्न सीमापारि भरतीय बजार गइरहेका थिए । सीमावर्ती बजार बनबासा, खटीमा र टनकपुरमा ठूलो संख्यामा नेपालीहरू किनमेलका लागि जाने गरेका हुन् । भारतबाट घर फर्किने नेपालीहरूलाई नेपालतर्फ गत वर्षदेखि नै एन्टिजेन परीक्षण सुरु गरिएको छ । उनीहरूलाई नाकामै खोप लगाउने व्यवस्थासमेत गरिएको छ ।