धनगढी। प्रहरीले दसैँतिहार अवधीमा कैलाली र कञ्चनपुरबाट १ सय ४४ जुवाडेलाई पक्राउ गरेको छ । कैलाली र कञ्चनपुरमा प्रहरीले जुवातास नियन्त्रणकालागि अभियान नै सञ्चालन गरेर जुवातास खेलिरहेको अवस्थामा १ सय ४४ जुवाडेलाई पक्राउ र साढे १७ लाख बढी रकम समेत बरामद गरेको छ।
कैलाली र कञ्चनपुरमा प्रहरीले जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको दाबी गरेको छ। कैलाली प्रहरीले तिहारको समयमा जुवातास खेल्ने र खेलाउने ४९ जनालाई पक्राउ गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका, बर्दगोरिया, लम्कीचुहा र गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा कैलाली प्रहरीले जुवाडे पक्राउ गरेको हो। कैलाली प्रहरीले जुवाडेहरूबाट ३ लाख ७७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता, प्रहरी निरीक्षक लोकेन्द्रसिंहले बताए।
यस्तै उता कञ्चनपुर प्रहरीले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गरेको छ। ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरूबाट ८ लाख १४ हजार ५ सय १० नगद र ६ लाखको चेक बरामद गरेको छ।जिल्लामा जुवातास नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘कञ्चनपुर प्रहरीले जुवातास नियन्त्रण अभियान चलाएको छ। विभिन्न समयमा प्रहरीले पक्राउ गरेका ११ जनालाई मुद्दा चलाएको छ’ उनले भने। यसरी सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १७ लाख ९२ हजार १ सय २ रुपैयाँ बरामद गरेको छ। जुवातासले घरबारबिहीन बनाउने र परिवार तथा समाज नै पीडित हुने भन्दै प्रहरीले अभियान सञ्चालन गर्नुपरेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अनुसार कारबाहीसमेत गरिने प्रहरीको दाबी छ।