बैतडी। बैतडीमा तरकारीबालीमा डढुवा रोग लागेपछि किसान चिन्तित बनेका छन् । बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका किसान टमाटर खेतीमा डढुवा रोग लागेपछि चिन्तित बनेका हुन्।
पच्कोराका ५० परिवार किसानलाई व्यवसायिक तरकारी खेतीमा आकर्षण गराउनका लागि नगरपालिकाको सहयोगमा कृषि सहकारी संस्थाले पोली हाउस र बीउ वितरण गरेको थियो । पहिलो पटक पोली हाउसमा टमाटर खेती गरेको भएपनि डढुवा रोग लागेर सबै सखाप भएको किसानहरुको भनाई छ ।
स्थानीय किसान किशोर कार्कीले भने ‘हामीले यो बर्ष सहकारी संस्था मार्फत पोली हाउस र बीउ अनुदानमा पाएका थियौं । पहिला राम्रै थियो। तर अहिले डढुवा रोग लागेर टमाटर खेती सखाप भएको छ।’ यस्तै अर्का किसान इन्द्र कार्कीले पोली हाउसमा मिहनेत गरेर लगाएको तरकारी खेती डढुवाका कारण टमाटरमा ठुलो क्षति बेहोरेको बताए।
तापक्रम लगायतका कुराहरु नमिल्दा टमाटर डढुवा रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्। पातमा मात्रै डढुवा लागेको भए यसलाई नियन्त्रण गर्न सकिने र फलमा लागेको भए नियन्त्रण गर्न गाह्रो उनले बताए। डढुवा रोग लागेको ठाउँमा कपर अप्सी क्लोराइड नामक बिषादी प्रयोग गर्न सकिने कृषि प्रसार अधिकृत चन्दको भनाई छ । उनले ‘अहिले चिसोको समयमा यसको प्रकोप बढी देखिन सक्ने भएकाले यो रोग लागेको बोटहरुको पात उखेलेर फाल्नुपर्ने सुझाब दिएका छन्।