दार्चुला। महाकाली नगरपालिकाले नगरपालिकाभित्रका बेसहारा जेष्ठ नागरिकलाई राशन कार्ड वितरण गर्न सुरु गरेको छ । नगरपालिकाको चालू आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा समावेश गरिएको योजना अनुसार चालू आर्थिक वर्षमा ‘बेसहारा आमा बुवाको सहारा नगर प्रमुख’ कार्यक्रममार्फत जेष्ठ नागरिकलाई राशन कार्ड वितरण सुरु गरिएको हो ।
महाकाली नगर प्रमुख हंशराज भट्टले वडा नम्बर ७ र ८ का बेसाहारा जेष्ठ नागरिकलाई राशन कार्ड वितरण सुरु गरेका हुन्। रासन कार्डमार्फत विभिन्न कारणले छोराछोरी नभएका वा छोराछोरी गुमाएर एक्लो भएका आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न उपलब्ध गराइने गरि राशन कार्ड वितरण गरिएको नगर प्रवक्ता पदमसिह महराले जानकारी दिए । नगरपालिकाले दुई वटा वडाका १८ जना बेसाहारा आमा बुवालाई रासन कार्ड वितरण गरिएको छ ।
नगरपालिकाले कार्यविधि अनुसार ६० वर्षभन्दा माथीका बेसाहारा आमा बुवालाई मासिक रुपमा निशुल्क खाद्यान्न वितरण कार्यक्रम अन्तर्गत प्रति व्यक्ति १५ किलोग्राम चामल, समान २/२ किलोग्राम नुन र दाल, २ लिटर तेल तथा ४ गोटा नुहाउने र ४ गोटा लुगा धुने साबुन उपलब्ध गराइने छ । नगरपालिकाले सञ्चालन गरेका सुफथ मूल्यका पसलहरुबाट खाद्यान्न उपलब्ध हुनेछ । साथै बेसाहारा आमा बुवाको साहारा नगरप्रमुख कार्यक्रममार्फत १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरी निशुल्क उपचारको व्यवस्था गरिएको नगर प्रमुख हंशराज भट्टले बताए।
बेसाहारा आमा बुवाले कातिक महिनादेखि निशुल्क रुपमा खाद्यान्न लगायतका उपभोग्य वस्तु पाउने छन् भने यो कार्यक्रम निरन्तर चल्ने बताइएको छ। साथै बेसाहारा आमा–बुवाको साहारा नगर प्रमुख कार्यक्रम मार्फत १ लाख बराबरको स्वास्थ्य बिमा गरी निःशुल्क उपचारको व्यवस्था समेत गरीएको नगर प्रमुख भट्टले जानकारी दिए। तिहार लगत्तै सबै वडाका बेसाहारा आमा बुवालाई निःशुल्क रासन कार्ड वितरण गर्ने नगरपालिकाको योजना छ । यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको अभिभावक नगरप्रमुख कार्यक्रममार्फत टुहुरा बालबालिकाहरुको पालन पोषण र शिक्षामा बढी जोड दिदै आएको बताइएको छ।