भक्तपुर। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावसम्म पाँच दलीय गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टी मध्यपुरथिमि नगर संगठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आगामी चुनावमा पाँच दलीय गठबन्धन बलियो हुने बताएका हुन्।
अध्यक्ष नेपालले संघीय संसदको चुनाव संविधानले निर्धारण गरेको मितिमा हुने बताए। उनले भने, “कोही भ्रममा नपरे हुन्छ, अर्लि इलेक्सन हुदैन, छिटै चुनाव हुनेवाला छैन, संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ, चैतमा स्थानीय तहको चुनाव हुनेछ, अब केही समयमा राष्ट्रियसभाको चुनाव हुन्छ, रिक्त स्थानमा संघीय उपनिर्वाचन पनि अब हुन्छ ।”उनले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने दाबी गर्दै कलम छापको अभियान अघि बढ्दै जाने बताए।
नेपालले एमालेमै बसेका १० भाइलाई आफ्नो पार्टीमा आउन आह्वान गर्नु भएको छ । १० भाईलाई जतिखेर आए पनि आफ्नो पार्टीमा ढोका खुल्ला रहेको भने ।अध्यक्ष नेपालले आफूहरूसँग कसैले टक्कर लिन्छ भने त्यो टुक्रा टुक्रा हुन्छ भन्दै अहंकार अब धेरै दिन टिक्दैन भने। आफ्नो राम्रो पार्टी रहेको र सहि निष्कर्ष पुग्ने पार्टी भएको दाबी गर्दै उहाँले अब कलम छापलाई जिताएर देशमा समाजवाद ल्याउने दाबी गरे।
अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरुको लहर बढेको भन्दै निर्वाचनको मैदानमा हामी जित्नेछौं, टक्कर लिनेहरुको हालत खत्तम बनाउने छौँ भने। एमाले नेता महेश बस्नेततर्फ संकेत गर्दै अध्यक्ष नेपालले भने।, “तपाईको भक्तपुरमा तह लगाउँने, हात खट्टा भाँच्ने प्रबृत्तिका मान्छे बस्छन्, त्यस्ता प्रबृत्तिलाई छाडेर अगाडि बढ्नुस् ।” एमाले अहिले गफाडीको जमात जस्तै भएको टिप्पणी गर्दैै उहाँले एमालेमा अध्यक्ष केपी ओलीले सबै ढोका बन्द गरेर निसासिने बनाए पछि बाध्य भएर बाहिर आउनु परेको बताए । कार्यक्रममा नेकपा समाजवादीका पोलिटव्यूरो सदस्य डा.राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज ध्रुर्वराज विष्ट, नेकपा समाजवादीका जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरमा चेरीफुरी गर्नेहरुलाई आगामी चुनावमा हैसियत देखाइदिने बताएका हुन्।