बैतडी। बैतडीको सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। बैतडीको सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।
सुर्नया गाउँपालिका ४ लेकडाँडाका महराको गएको असोज ६ गते राती हत्या भएको थियो । महराको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको र अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेको प्रवक्ता ओझाले जानकारी दिए । उनीहरु चारै जनालाई गएको बिहीबार पुर्पक्षका लागि कारागार पठाइएको ओझाले जानकारी दिए । हत्या आरोपितमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएको छ भने अदालतबाट अन्तिम फैसला हुन भने बाँकी रहेको छ ।