धनगढी : नेकपा एमालेले करिब देशभरका वडाहरुको अधिवेशन सम्पन्न गरेको छ । सुदूरपश्चिम प्रदेशमा कार्तिक १२ गते वडा अधिवेशन तोकिएको थियो । सुदूरपश्चिमका ५ सय ६४ वडामा एमालेले सर्बसम्मत नेतृत्व चयन भएको छ । कैलालीका अन्य स्थानिय तहमा सर्बसम्मत नेतृत्व चयन भएपनि गोदावरी नगरपालिकाका ४ वटा वडामा नेतृत्व चयन हुन सकेको छैन ।
गोदावरी नगरपालिकामा दुई खेमा प्रस्ट देखिएका छन् । पुर्ब माओवादी र पुर्ब एमाले खेमा प्रस्ट देखिएको छ । एमाले सुदूरपश्चिम ईन्चार्ज समेत रहेका पुर्ब माओवादी नेता रहेका लेखराज भट्टको गृह नगर गोदावरी हो । भट्टले आफ्ना भाई गोकर्ण भट्टलाई गोदावरी नगर अध्यक्ष बनाउने तयारी गरेका छन्, भने पुर्व एमालेबाट आनन्द भट्ट अध्यक्षका लागी तयारी गरिरहेका छन् ।
दुवैले अध्यक्ष बन्ने दावी गरिरहेकै बेला भएको वडा अधिवेशनमा दुबै समुह बिभाजित देखिएका छन् । नेतृत्व चयन भएका वडाहरुमापनि भागबण्डा गरी समस्या समाधान गरिएको थियो । यी ४ वटा वडामापनि दुबै पक्षबिच सहमती हुन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।
नेता लेखराज भट्टको घर रहेको वडा नम्बर १, ५, ४ र ७ नम्बर वडामा सहमती नजुट्दा नेतृत्व चयन हुन नसकेको हो । अन्य वटा वडामा भने नेतृत्व चयन भइसकेको छ । वडा नं. २ मा डम्मर साउँदको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि सर्वसम्मत चयन भएको छ भने वडा नं. ३ मा विरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मत वडाकमिटि चयन भएको छ ।
यसैगरी वडा नं. ६ मा सन्तोष सिँहको अध्यक्षतामा, वडा नं. ८ मा गोबिन्द चौधरीको अध्यक्षतामा, वडा नं. ९ मा सर्जन ठकुल्लाको अध्यक्षतामा, वडा नं. १० मा झंकर कोलीको अध्यक्षतामा, वडा नं. ११ मा लोक बहादुर कोलीको अध्यक्षतामा र वडा नं. १२ मा नन्द सिँह बि.क को अध्यक्षतामा सर्वसम्मत रुपमा वडाकमिटिहरु चयन भएका नेकपा एमालेका गोदावरी नगरकमिटि सचिव आनन्द भट्टले जानकारी दिए । एमालेको नगर अधिवेशन यही कार्तिक १५ गते हुदैछ ।